Logo

अर्थ

बाढीपीडितका लागि इप्पानले ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिक तथा विद्युत् आयोजनाको पुनर्निर्माण र पुनःस्थापनाका लागि ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

इप्पानको २०८३ भदौ ११ गते बसेको २०६औँ आकस्मिक कार्यसमिति बैठक तथा सल्लाहकारसहितको संयुक्त बैठकले इप्पान र इप्पान सम्बद्ध जलविद्युत् कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँलगायत जिल्लामा जनधनको क्षति भएको भन्दै इप्पानले मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ। बैठकले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा पुगेको क्षतिप्रति पनि इप्पानले दुःख व्यक्त गरेको छ। ती आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको ज्यान गएको घटनाप्रति शोक व्यक्त गर्दै घाइतेहरूको उपचार तथा शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

इप्पानले क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि नेपाल सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीका अनुसार सहयोग रकमको चेक उपयुक्त समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिनेछ।

अध्यक्ष डाँगीले ऊर्जा क्षेत्र नेपालको आर्थिक समृद्धिसँग मात्र नभई विपद्का बेला नेपाली जनताको सुख–दुःखसँग पनि जोडिएको क्षेत्र भएको बताए। विपद्को समयमा इप्पानका सदस्य कम्पनीहरू एकजुट भएर सहयोग गर्दा पीडित परिवारलाई राहत र आशा प्रदान गर्न सकिने उनको भनाइ छ।

इप्पानले आफ्ना सम्पूर्ण सदस्य कम्पनीहरूलाई विपद्पीडितका लागि सञ्चालन हुने मानवीय अभियानमा सक्रिय र उदारतापूर्वक सहयोग गर्नसमेत आह्वान गरेको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार १९:१३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।