Logo

अर्थ

बाढीपीडितको राहत कोषमा गोर्खा ब्रुअरीले दियो १० करोड



काठमाडौं । रसुवालगायत बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि गोर्खा ब्रुअरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि प्राप्त सहयोग रकम सरकारले एकद्वार प्रणालीमार्फत परिचालन गर्ने तयारी गरिरहेका बेला गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको हो।

गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

सरकारले रसुवासहित बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग संकलन गर्न थालेको छ। प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत प्रभावित क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाइएको छ।

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण मानिसको ज्यान जानुका साथै घर, सडक, पुल, विद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ।

यसैबीच निजी क्षेत्रबाट समेत बाढी प्रभावितका लागि सहयोग घोषणा तथा हस्तान्तरण हुन थालेको छ। सरकारले प्राप्त सहयोगलाई प्रभावित नागरिकको तत्कालीन राहतसँगै खोज, उद्धार र दीर्घकालीन पुनःस्थापनामा उपयोग गर्ने जनाएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार १९:२२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।