काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण अपर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनालाई नेपाली सेनाले सुरक्षित स्थानमा सारेको छ।
बुधबारदेखि हाइड्रोपावरको टनेलमा मजदुर तथा स्थानीय फसेको खबर आएपछि सेनाले प्रतिकूल मौसम र बाढीको तीव्र बहावबीच उद्धार अभियान सञ्चालन गरेको थियो।
जोखिमपूर्ण परिस्थितिका बाबजुद सेनाको टोलीले बिहीबार टनेलभित्र रहेका ३५० जनालाई सकुशल बाहिर निकालेको हो। टनेलमा अझै १०० भन्दा बढी मानिस रहेको र उनीहरूको उद्धारका लागि टोली परिचालन भइरहेको सेनाले जनाएको छ।
टनेलभित्रको उद्धारका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली) बाट जमदार भक्तजन बस्नेतको कमान्डमा १/३ को सैन्य टोली परिचालन गरिएको थियो।
यसैबीच बाढीबाट प्रभावित रसुवाका अन्य क्षेत्रमा पनि सेनाले उद्धारलाई निरन्तरता दिएको छ। सीक्यूआरटी धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको कमान्डमा खटिएको १/५ को टोलीले स्याफ्रुबेंसी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुबेँसीलगायतका स्थानबाट थप ५३३ जनालाई सुरक्षित स्थानमा सारेको छ।
सेनाका अनुसार भदौ ११ गते मात्रै रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरिएको हो। बाढीको जोखिम कायमै रहेकाले उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको सेनाले जनाएको छ।
















प्रतिक्रिया