काठमाडौं । भारतले बाढी प्रभावित नेपालका लागि मानवीय सहायता सामग्री बोकेका अर्को विमान पठाउने तयारी गरेको छ ।
यसअघि दुईवटा विमान पठाएको र आज साँझ तेस्रो विमान पठाउने तयारी भइरहेको भारतीय विदेश मन्त्रालय (एमईए)का प्रवक्ता रणधीर जयसवालले शुक्रबार बताएका छन्।
विनाशकारी आकस्मिक बाढीपछि नयाँदिल्लीले राहत तथा उद्धार सहयोग थप तीव्र बनाइरहेको छ।
एएनआईको प्रश्नको जवाफ दिँदै जायसवालले तेस्रो विमानमा करिब १२–१३ टन मानवीय सहायता सामग्री पठाइने र योजना अनुसार उक्त विमान उडेको खण्डमा नेपालमा भारतले पठाएको कुल राहत सामग्री करिब ६० टन पुग्ने बताए।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जायसवालले भने, ‘विपत्ति सुरु भएलगत्तै हामीले सोही दिन मानवीय सहायता परिचालन गर्यौँ। पहिलो विमान अगस्ट २६ को साँझ नेपालका लागि उडेको थियो।
त्यसमा १० टन राहत सामग्री थियो, जसमा अस्थायी आश्रयस्थलका सामग्री, कम्बल, सरसफाइ सामग्रीका किट, सौर्य बत्ती र औषधि थिए।’
उनका अनुसार दोस्रो विमान अगस्ट २७ बिहान करिब १०ः३० बजे उडेको थियो। उक्त विमानमा ३७.५ टन राहत सामग्री पठाइएको थियो।
एमईएका प्रवक्ताका अनुसार उक्त सामग्रीमा टेन्ट, कम्बल, सरसफाइ किट, सौर्य बत्ती, पानी निकाल्ने पम्प, भान्साका सामग्री, जेनेरेटर, औषधि तथा खाद्य सामग्री रहेका थिए।
जायसवालले भारतले आज साँझ तेस्रो विमान पठाउने विषयमा छलफल भइरहेको बताए। उक्त विमानमा पोर्टेबल जेनेरेटर, ‘डिग्निटी किट’, खाद्य सामग्री, पानी शुद्धीकरण गर्ने ट्याब्लेट र औषधि पठाउने तयारी छ।
यी सामग्री नेपाल पक्षले उपलब्ध गराउन अनुरोध गरेका वा आवश्यक ठानेका सामग्रीमध्येका रहेको उनले बताए।
‘विशेष विमानको कुल भार करिब १२–१३ टन हुनेछ। समग्रमा, यो विमान पनि उडेको खण्डमा मानवीय सहायताअन्तर्गत भारतले नेपालमा करिब ६० टन राहत सामग्री हुनेछ,’ जायसवालले भने।
मानवीय सहायता सामग्रीबाहेक भारतले नेपालको उद्धार अभियानका लागि थप विशेष सहयोगको तयारीसमेत गरिरहेको छ।
‘नेपालको अनुरोधअनुसार हामी सुरुङ उद्धार टोली पठाउने तयारीमा छौँ। त्यसका लागि आवश्यक उपकरण कस्तो हुने भन्नेबारे स्थलमै पुगेर मूल्यांकन गर्न पहिले एउटा निरीक्षण टोली पठाइँदैछ। हामी नेपालमा स्वास्थ्यकर्मीको टोली पनि पठाउँदैछौँ,’ जायसवालले भने।
बाढी प्रभावित क्षेत्रमा आवागमन तथा सम्पर्क पुनःस्थापित गर्न भारतले बेल्ली ब्रिज र त्यससँग सम्बन्धित प्राविधिक टोली पठाउने प्रस्तावसमेत गरेको छ।
एमईएका प्रवक्ताले भारतले नेपालमा जारी खोज तथा उद्धार अभियानमा सहयोग गर्न राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ)का टोली तथा आवश्यक उपकरण पठाउने प्रस्तावसमेत गरेको बताए। यसले विपद्बाट प्रभावित मानिसहरूलाई राहत उपलब्ध गराउन पनि सहयोग गर्नेछ।
विपद्बाट प्रभावित भारतीय नागरिकबारे बोल्दै जायसवालले उद्धार गरिएका भारतीय नागरिकलाई स्वदेश फर्काउन भारत सरकारले व्यवस्था गरिरहेको बताए।
उनले हालसम्म २१ जना भारतीय नागरिक दिल्ली फर्किसकेको र उनीहरूको यात्रा व्यवस्थापन भारतीय दूतावासले गरेको जानकारी दिए।
नेपाली अधिकारीहरूले उपलब्ध गराएको पछिल्लो विपद् व्यवस्थापनसम्बन्धी विवरणअनुसार हालसम्म ५३८ जनाको शव फेला परेको छ भने ९७७ जना अझै बेपत्ता छन्। प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्यहरू जारी छन्। एएनआई
















प्रतिक्रिया