काठमाडौं। “बझाङ्गी बाघ” नामले परिचित प्रतिभावान खेलाडी रविन्द्र ढाटले रोड टु युएफसी सिजन-५ को सेमिफाइनल खेलमा शानदार विजय हासिल गर्दै फाइनलमा ऐतिहासिक प्रवेश गरेका छन्।
यो रोमाञ्चक जितसँगै उनी प्रतिष्ठित रोड टु युएफसीको फाइनल चरणमा पुग्ने पहिलो नेपाली फाइटर बन्न सफल भएका छन्।
अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा नेपालको नाम र राष्ट्रिय झण्डालाई उचाइमा पुर्याएको यस ऐतिहासिक सफलताप्रति देशविदेशमा रहेका सम्पूर्ण नेपालीहरूले गर्व महसुस गरेका छन्।
ढाटको यो कठिन परिश्रम, उच्च मनोबल र अदम्य साहसले नेपालका आगामी पुस्ताका युवा खेलाडीहरूलाई खेलकुदमा लाग्नका लागि ठूलो प्रेरणा दिएको छ।
यसैबीच, नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङले एक बधाई तथा शुभकामना सन्देश जारी गर्दै खेलाडी रविन्द्र ढाटलाई हार्दिक बधाई ज्ञापन गरेका छन्।
नेता गुरुङले ढाटको यो सफलताले समग्र देशको शिर उच्च बनाएको बताउँदै आगामी फाइनल चरणको खेलका लागि अपार सफलताको शुभकामना व्यक्त गरेका छन्।
“अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा नेपालको नाम र राष्ट्रिय झण्डालाई उच्च स्थानमा पुर्याउनु भएकोमा सम्पूर्ण नेपालीहरू गर्व महसुस गरेका छौं। तपाईंको यो कठिन परिश्रम, उच्च मनोबल र ऐतिहासिक सफलताले नेपालका आगामी पुस्ताका युवा खेलाडीहरूलाई प्रेरणा दिएको छ,” विद्वान गुरुङले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
रविन्द्र ढाटको यो ऐतिहासिक यात्राले नेपालमा मिश्रित मार्शल आर्ट्स (MMA) को सम्भावना र भविष्यलाई थप उजागर गरेको छ। सम्पूर्ण खेलप्रेमी र देशवासीको तर्फबाट उनलाई आगामी फाइनल खेलमा पनि तिरंगा फहराउँदै देशको गौरव अझै उचो राख्नका लागि उच्च सफलताको शुभकामना दिइएको छ।
















प्रतिक्रिया