Logo

अर्थ

एनसीसीएस ग्रुपद्वारा रसुवा बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग



काठमाडाैं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि एनसीसीएस ग्रुपले १० लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुपले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। एनसीसीएस ग्रुपअन्तर्गतका तीन शैक्षिक संस्थाले छुट्टाछुट्टै रूपमा सहयोग गरेका हुन्।

जसअनुसार नेसनल क्रिएटिभ को–एडु स्कुलले ३ लाख, एनसीसीएस हायर सेकेन्डरी स्कुलले ३ लाख तथा नेसनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस)ले ४ लाख रुपैयाँ सहयोग गरेका छन्।

विपद्का समयमा प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको एनसीसीएस ग्रुपले जनाएको छ।

भोटेकोशी बाढीका कारण रसुवासहित विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको खोज तथा उद्धारसँगै राहत र पुनर्स्थापनाका कार्य जारी छन्। यस्तो अवस्थामा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट समेत सहयोग जुटिरहेको छ।

विगत साढे दुई दशकदेखि नेपालको सूचना प्रविधि तथा व्यवस्थापन शिक्षाको क्षेत्रमा योगदान दिँदै आएको एनसीसीएस ‘क्युएए सर्टिफाइड’ शैक्षिक संस्था हो। पकनाजोलस्थित एनसीसीएस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो।

एनसीसीएसले उच्च शिक्षालाई केवल डिग्री प्राप्त गर्ने माध्यमका रूपमा नभई विद्यार्थीको व्यक्तित्व, नेतृत्व क्षमता तथा व्यावसायिक दक्षता विकासको आधारका रूपमा अघि बढाउँदै आएको जनाएको छ।

सूचना प्रविधि, व्यवस्थापन तथा व्यावसायिक शिक्षामार्फत विद्यार्थीलाई बदलिँदो विश्व बजारका चुनौती सामना गर्न सक्ने सिर्जनशील तथा दक्ष जनशक्तिका रूपमा विकास गर्ने लक्ष्य लिएको एनसीसीएसले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आईतवार १६:३१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।