काठमाडौं । बाढीपहिरोबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले सिटी एक्सप्रेसले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ।
कम्पनीका अनुसार विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवार तथा प्रभावित आफन्तलाई सहज, छिटो र पूर्ण रकम पठाउन सकून् भन्ने उद्देश्यले बाढीपहिरो आएको दिनदेखि नै उक्त विशेष सुविधा लागू गरिएको हो।
अब संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत, ओमानलगायत खाडी मुलुकबाट सिटी एक्सप्रेसमार्फत नेपाल पठाइने रेमिट्यान्समा सेवा शुल्क लाग्ने छैन।
त्यसैगरी जापान, दक्षिण कोरिया, मलेसिया र अस्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा पनि शुल्क नलाग्ने कम्पनीले जनाएको छ। युरोपतर्फ बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्वीडेन, नर्वे, जर्मनी र फ्रान्सबाट पठाइने रकममा समेत यो सुविधा लागू हुनेछ।
ओसनिया क्षेत्रको न्युजिल्यान्डबाट नेपाल पैसा पठाउँदा पनि सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ। सिटी एक्सप्रेस तथा उसका विभिन्न अन्तर्राष्ट्रिय च्यानलमार्फत यो सुविधा उपलब्ध हुनेछ।
कम्पनीका अनुसार शुल्क मिनाहा भएपछि विदेशमा रहेका नेपालीले नेपालमा रहेका परिवार तथा बाढीपहिरो प्रभावित आफन्तलाई थप सहज रूपमा आर्थिक सहयोग पठाउन सक्नेछन्। यो सुविधा तत्काल प्रभावकारी रूपमा लागू गरिएको हो।
सिटी एक्सप्रेसले विपद्को यस कठिन समयमा विदेशमा रहेका नेपालीलाई आफ्ना परिवार तथा प्रभावित समुदायलाई सहयोग गर्न निःशुल्क रेमिट्यान्स सेवाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ।
सिटी एक्सप्रेसले विगत २० वर्षदेखि विभिन्न मुलुकबाट नेपालमा सहज, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्दै आएको जनाएको छ।
















प्रतिक्रिया