Logo

समाचार

भोटेकोशी बाढी प्रभावितलाई नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सहयोग गर्यो १७ लाख ६२ हजार ९५७ रुपैयाँ



काभ्रेपलान्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भोटेकोशी बाढी प्रभावितका लागि १७ लाख ६२ हजार ९५७ रुपैयाँ सहयोग गरेको छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिंग क्षेत्रमा ठुलो मानवीय एवं भौतिक क्षति गरेकोले ती क्षेत्रमा राहत तथा उद्दारका लागि काभ्रे कांग्रेसले पार्टी सदस्य र शुभेच्छुकबाट संकलन गरेको रकम हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले नेपाली कांग्रेसका सह-महामन्त्री उदय शमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई रकम हस्तान्तरण गरेका हुन् । मानवीय सेवाका लागि उक्त रकम पार्टीको केन्द्रिय विपद व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाईने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति लामाले विपद्को कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिनु, मानवीय सहयोग जुटाउनु र राहत तथा उद्धारमा हातेमालो गर्नु हामी सबैको साझा दायित्व भएको बताउँदै पीडितको पीडामा केही मल्हम हुने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका सह-महामन्त्री उदय शमशेर राणाले विपद्को घडीमा पीडितलाई सहयोग गर्न नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले गरेको सहयोग प्रति आभार प्रकट गरे ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे नेपाली कांग्रेस काभ्रेका साथीहरूले ठूलो छाती देखाएको भन्दै पीडितको घाउमा मल्हम लगाउन ठूलो सहयोग हुने बताए ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार १५:०९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।