Logo

अर्थ

सिप्रदी र भोटेकोसी पावरद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख सहयोग



काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सिप्रदी समूहअन्तर्गतका सिप्रदी र भोटेकोसी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न उक्त रकम उद्धार तथा राहत, स्वास्थ्य उपचार र बाढीका कारण क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनालगायतका काममा प्रयोग हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

विपद्का कारण प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सिप्रदी समूहले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ‘सिप्रदीयन सहायता संस्था’मार्फत प्रत्यक्ष राहत तथा सहयोगका कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ ।

संस्थाका प्रतिनिधिहरू प्रभावित समुदायमा पुगेर स्थानीय आवश्यकता पहिचान गर्दै अत्यावश्यक राहत सामग्री, खाद्यान्न तथा अन्य आधारभूत सामग्री वितरण गरिरहेका छन् ।

प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै स्थानीय तहसँग समन्वय गरी आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ ।

सिप्रदी समूहले संकटको समयमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित समुदायसँग ऐक्यबद्धता जनाएको छ । विपद्को कठिन घडीमा प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोगमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समूहले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार १८:५५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।