Logo

समाचार

बाराका ११ वर्षीय बालकको अपहरणपछि भारत लगेर ह’त्या, १७ वर्षीय किशोर पक्राउ



बारा । विश्रामपुर गाउँपालिका–३ मुसहरवाबाट हराएका ११ वर्षीय बालक राजेश कुमार साहको अपहरणपछि भारत लगेर हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेका किशोरविरुद्ध अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

मुसहरवा निवासी साह भदौ ९ गते बिहान करिब ९ बजे घरबाटै बेपत्ता भएका थिए। परिवारले सोही दिन साँझ ७ः५० बजे प्रहरी चौकी मुसहरवामा जानकारी गराएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।

खोजीका क्रममा भदौ ११ गते बिहान करिब १०ः३० बजे भारतको बिहारस्थित मोतिहारी जिल्ला, नुनयाडी पञ्चायत–१ को सिंहा नदी किनारमा बालकको शव फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं डीएसपी मिनबहादुर घलेका अनुसार सीसीटीभी फुटेज, स्थानीयवासीको भनाइ तथा भारतीय प्रहरीसँगको समन्वयबाट गरिएको अनुसन्धानका क्रममा बालकलाई सोही ठाउँका १७ वर्षीय किशोरले अपहरण गरी भारत लगेर हत्या गरेको खुलेको हो।

पक्राउ परेका किशोरलाई जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी घलेले बताए।

 

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलवार २१:०९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।