Logo

अर्थ

प्रसारणलाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते कर्मचारीलाई उपचार क्षतिपूर्ति र अन्य क्षतिपूर्तिबापत १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

मेलम्ची वितरण केन्द्र कार्यक्षेत्रमा पर्ने मेलम्ची नगरपालिका-१० आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भन्ने शेरबहादुर मगर १५ केभी प्रसारणलाइनको डिस्क पिन बदली गर्ने क्रममा ११ चैत २०८२ सालमा करेन्ट लागेर घाइते भएका थिए ।

उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उपचारमा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो ।

मगरले १० लाख रुपैयाँ पेस्की लगिसकेका छन् । अब बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ विनियमावलीअनुसार सम्बन्धित वितरण केन्द्रमार्फत घाइतेलाई उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको हो ।

 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार ११:१८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।