Logo

अर्थ

आइविवीद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण



काठमाडाैं । नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्ड आइविवी अष्ट्रेलिया का डाइपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्सले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रूपैयाँ नगद सहयोग गरेको छ ।

शुभम् हेल्थ केयर प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आइविवीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्ये सहयोग जुटाएको हो ।

उक्त सहयोग रकम अर्थमन्त्रीस्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरिएको जनाइएको छ ।

चेक हस्तान्तरण गर्दै आइविवी नेपालकी प्रबन्ध निर्देशक ब्युटी कुमारी सर्राफले विपद्को समयमा सहयोगी हात बन्न पाएकोमा गौरव महसुस भएको बताइन् ।

उनले आइविवीका उत्पादन खरिद गर्ने आम उपभोक्ता, रिटेलर तथा डिलरहरूको साथ र विश्वासकै कारण तीन दिनमै ५० लाख रूपैयाँ सहयोग गर्न सम्भव भएको बताइन् । उनले भनिन्, ‘मामुहरू सबैलाई धेरै–धेरै धन्यवाद। तपाईँहरूको साथ सहयोगबिना आज हामी यो ५० लाखको नगद सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न सक्ने थिएनौँ ।’

आइविवीका उत्पादन खरिद गरेर उपभोक्ताले दिएको साथबाट नै यो सहयोग सम्भव भएको स्पष्ट पारिन् ।

‘हिजोका दिनमा आइविवीका उत्पादन किनिदिएर हामीलाई मुनाफा नभएको भए यो रकम डोनेसन गर्ने हिम्मत हुने थिएन । अहिले तपाईँहरूले नकिनिदिनुभएको भए तीन दिनमै ५० लाख जम्मा पनि हुने थिएन,’ सर्राफले भनिन् ।

उनका अनुसार पछिल्ला तीन दिनमा उपभोक्ताले आइविवीका सामान खरिद गर्दा खर्च गरेको १०० प्रतिशत रकमलाई आधार बनाएर ५० लाख रूपैयाँ राहत कोषमा जम्मा गरिएको हो। ‘यो डोनेसन आईविवीले होइन, तपाईँहरूले गर्नुभएको हो । यसमा मामुहरू सबैको हिस्सा छ, रिटेलरको मेहनत छ, डिलरको विश्वास छ। हामीले त्यही विश्वासलाई जोडेर यो सम्भव बनाएका हौँ,’ उनले भनिन् ।

आईविवीले विपद्का समयमा प्रभावित परिवारलाई सहयोग गर्न आफ्ना उपभोक्ता, रिटेलर तथा डिलर नेटवर्कलाई समेत जोड्दै राहत अभियान सञ्चालन गरेको हो । सर्राफले आईविवीको तर्फबाट भएको सहयोग अभियानको सुत्रधार बन्न पाउँदा आफूलाई अत्यन्तै गर्व लागेको बताइन् । ‘यो सबै कुराको सुत्रधार बन्न पाउँदा मैले असाध्यै गर्व महसुस गरेकी छु,’ उनले भनिन् ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार १३:२१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।