Logo

विविध

कृष्णभीरमा धमाधम बनाइँदै छ नयाँ बाटो, भदौभित्रै खुलाउने तयारी



काठमाडौं । त्रिशुली नदीले सडकको बेस नै कटान गरेपछि १४ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीर खण्डमा नयाँ ट्रयाक निर्माणको काम सकिएको छ। अब ग्राभेल र रोलिङको काम पूरा गरेर भदौ मसान्तभित्रै यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

नदी कटानका कारण भदौ १४ मा कृष्णभीरमा करिब एक सय मिटर सडक भासिएको थियो। सडकको तल्लो भाग कटान भएपछि पुरानै स्थानबाट सडक सञ्चालन गर्न कठिन भएकाले भासिएको ठाउँभन्दा माथिपट्टिबाट नयाँ ट्रयाक खोलिएको हो।

नयाँ ट्रयाक निर्माणका क्रममा पहाड काटेर करिब २५० मिटर सडक दुवैतर्फ जोड्ने काम सम्पन्न भइसकेको नागढुंगा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताइन्।

उनका अनुसार आइतबारदेखि ग्राभेल र रोलिङको काम सुरु गरिनेछ। त्यसका लागि तीनदेखि चार दिन लाग्ने अनुमान छ।

‘ग्राभल गर्न काटेकोजस्तो सजिलो हुँदैन। रोलिङ गरेर मिलाउनुपर्छ। लेयर–लेयरमा गर्नुपर्छ,’ अधिकारीले भनिन्, ‘त्यसकारण तीन–चार दिन लाग्न सक्छ। यो महिनाको अन्त्यबाट यातायात सञ्चालन गर्ने लक्ष्य छ।’

त्रिशुलीले सडकको आधार भाग नै कटान गरेपछि नयाँ ट्रयाक खोल्नुपरेको अधिकारीले बताइन्। नयाँ ट्रयाकबाट सवारीसाधन सञ्चालनमा उल्लेख्य समस्या नआउने उनको अपेक्षा छ।

कृष्णभीरमा यसअघि पहिरो रोकथामका लागि बायो इन्जिनियरिङ प्रविधि प्रयोग गरिएको थियो। कंक्रिट र बिरुवाको संयोजनबाट गरिएको संरक्षण दीर्घकालीन रूपमा प्रभावकारी रहेको अधिकारीको भनाइ छ।

‘हामीले नसोचेको बाढी आएर सडकको तलपट्टिको भाग काट्दा माथि पनि भासियो,’ उनले भनिन्, ‘अहिले माथिपट्टिबाट सडक निर्माण गरेका छौं। त्यति धेरै डिस्टर्ब नहोला भन्ने आशा राखौं।’

राजमार्ग अवरुद्ध हुँदा अत्यावश्यक वस्तुको ढुवानीसमेत प्रभावित भएको छ। यसको प्रत्यक्ष असर बजारमा परेको छ भने काठमाडौंमा खाना पकाउने ग्यासको आपूर्ति समस्यासमेत बल्झिएको छ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं आउने सडकमा सवारीको चाप बढेको छ। वैकल्पिक मार्गमा चाप बढ्दा काठमाडौं आउजाउसमेत असहज भएको छ।

कृष्णभीरको पहिरो र सडक अवरोधका कारण काठमाडौं, धादिङ हुँदै चितवन, तनहुँ, कास्की तथा पश्चिम नेपालका विभिन्न जिल्लातर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।

 

प्रकाशित मिति : २८ भाद्र २०८३, आईतवार ०७:३६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।