सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेविहार अहिले केवल पूजा–आराधना गर्ने धार्मिक स्थलको रुपमा नभई ऐतिहासिक महत्त्व बोकेको छ ।
घना वनको बिचमा उभिएको यसको ऐतिहासिक मन्दिर, ढुंगामा कुँदिएका कलात्मक संरचना र आसपासको प्राकृतिक वातावरणले कर्णालीको प्राचीन इतिहास, धार्मिक सहअस्तित्व र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोडेको छ ।
प्रदेश सरकारले काँक्रेविहारको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारलाई प्राथमिकता दिन थालेसँगै यो सम्पदा प्रदेश राजधानीको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुने सम्भावना बढेको छ।
काँक्रेविहार पुग्ने जोकोहीले त्यहाँको धार्मिक वातावरणसँगै प्राचीन कला र वास्तुकलाको झल्को पाउन सक्छ । मन्दिर परिसरमा रहेका ढुंगाका मूर्ति, स्तम्भ, तोरण तथा विभिन्न कलात्मक आकृतिले तत्कालीन समाजको धार्मिक विश्वास, शिल्पकला र निर्माण प्रविधिको परिचय दिन्छन्।
बौद्ध र हिन्दु धार्मिक परम्परासँग सम्बन्धित कलात्मक पक्षका कारण काँक्रेविहारलाई धार्मिक सहअस्तित्वको प्रतीकका रूपमा समेत हेर्ने गरिन्छ।
इतिहास र वास्तुकलाको जीवित दस्ताबेज
काँक्रेविहारका ऐतिहासिक तथा पुरातात्त्विक अवशेषले कर्णालीमा प्राचीनकादेखि नै विकसित सभ्यता र सांस्कृतिक गतिविधि रहेको संकेत गर्छन्। यहाँ रहेका ढुंगाका संरचना र मूर्तिकलाले तत्कालीन समाजको धार्मिक चेतना र कलात्मक क्षमताबारे अध्ययन गर्ने आधार प्रदान गर्छन्।
त्यसैले काँक्रेविहारको महत्त्व मन्दिरको धार्मिक पक्षमा मात्र सीमित छैन। यसको संरक्षणसँगै यहाँको इतिहास, वास्तुकला र पुरातात्त्विक महत्वलाई नयाँ पुस्तासम्म पु¥याउनु पनि उत्तिकै आवश्यक छ।
यसलाई व्यवस्थित रूपमा विकास गर्न सके विद्यार्थी, अनुसन्धानकर्ता, इतिहास तथा पुरातत्त्वका अध्येता र सांस्कृतिक पर्यटकका लागि समेत आकर्षणको केन्द्र बनाउन सकिने आधारहरू रहेका छन् ।
राजधानीसँग जोडिएको सहज पर्यटकीय गन्तव्य
कर्णालीका अधिकांश चर्चित पर्यटकीय गन्तव्य भौगोलिक रूपमा टाढा छन्। रारा, फोक्सुन्डो, सिञ्जा, बाला त्रिपुरासुन्दरी , शे गुम्वा , मानसरोवर लगायतका गन्तव्य पुग्न लामो समय र खर्च आवश्यक पर्छ। त्यसको तुलनामा काँक्रेविहार प्रदेश राजधानी वीरेन्द्रनगरसँगै जोडिएको सहज गन्तव्य हो।
यही भौगोलिक अवस्थिति काँक्रेविहारको पर्यटन विकासका लागि महत्त्वपूर्ण अवसर बन्न सक्छ। वीरेन्द्रनगर आउने पर्यटकलाई काँक्रेविहारसँगै अन्य ऐतिहासिक, धार्मिक तथा प्राकृतिक क्षेत्रसँग जोड्न सके एक दिने घुमफिरभन्दा माथि उठाएर पर्यटन सर्किटका रूपमा विकास गर्न सकिने सम्भावना छ।
मन्दिर अवलोकनसँगै वन क्षेत्रमा पदयात्रा, ऐतिहासिक जानकारी, स्थानीय कला–संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनको प्रवद्र्धन गर्न सके काँक्रेविहारमा पर्यटकको बसाइ र खर्च दुवै बढाउन सकिन्छ।
पर्यटनसँगै स्थानीय अर्थतन्त्र
पर्यटकको सङ्ख्या बढ्नु मात्र पर्यटन विकासको मापदण्ड होइन। त्यसबाट स्थानीय समुदायले कति लाभ लिन सके भन्ने कुरा अझ महत्त्वपूर्ण हुन्छ।
काँक्रेविहारलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके स्थानीय होटेल, होमस्टे, यातायात, स्थानीय परिकार, हस्तकला तथा स्मरणीय सामग्रीको व्यापार विस्तार हुन सक्छ। यसले स्थानीय स्तरमा रोजगारी र आयआर्जनका नयाँ अवसर सिर्जना गर्न सक्छ।
काँक्रेविहारको विकासलाई स्थानीय उत्पादन र सेवासँग जोड्न सके यसको आर्थिक प्रभाव वीरेन्द्रनगर हुँदै आसपासका क्षेत्रमा समेत विस्तार हुन सक्ने देखिन्छ।
सडक सुधारदेखि पर्यटकमैत्री पूर्वाधारसम्म
काँक्रेविहारको सम्भावना ठुलो भए पनि यहाँ पुग्ने सडक तथा अन्य पूर्वाधारमा सुधार आवश्यक देखिन्छ। पछिल्लो समय काँक्रेविहार जाने सडक जीर्ण भएपछि आवागमनमा समस्या हुँदै आएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा यस क्षेत्रको पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको छ।
काँक्रेविहारमा पर्यटकका लागि सूचना केन्द्र, सूचना बोर्ड, व्यवस्थित पैदल मार्ग, विश्राम स्थल, सरसफाइ तथा अन्य आधारभूत सुविधा थप गर्न आवश्यक छ। तर पूर्वाधार निर्माणका क्रममा ऐतिहासिक संरचनाको मौलिकता भने जोगाउनुपर्ने चुनौती पनि उत्तिकै महत्त्वपूर्ण छ।
काँक्रेविहार प्रवेशका लागि प्रतिव्यक्ति २० रुपैयाँ उठाउने चलनसमेत रहेको छ। पर्यटकबाट उठ्ने यस्तो शुल्कलाई पारदर्शी रूपमा संरक्षण, सरसफाइ र व्यवस्थापनमा उपयोग गर्न सके पर्यटकले पनि शुल्क तीरेबापतको सेवा अनुभूति गर्न सक्नेछन्।
प्रदेश सरकारको प्राथमिकतामा काँक्रेविहार
कर्णाली प्रदेश सरकारले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रका लागि उल्लेख्य रकम विनियोजन गरेको छ।
प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले यस पटकको बजेटमा कर्णालीका पर्यटकीय क्षेत्रको विकासमा भारी मात्रामा ध्यान दिइएको बताएकी छन्।
मन्त्री खड्काका अनुसार कर्णालीको पर्यटनलाई आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्न प्राकृतिकसँगै ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा जोड दिइएको छ। सुर्खेतको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको काँक्रेविहारलाई पनि पर्यटन विकासको महत्त्वपूर्ण गन्तव्यका रूपमा अघि बढाउने सरकारको योजना रहेको उनले बताइन्।
प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ मा रारा ताल, काँक्रेविहार, कुपिण्डे दह र स्यार्पुतालको संरक्षण तथा विकासका लागि २१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै, अन्य पर्यटकीय पूर्वाधार विकासका लागि ५३ करोड ८६ लाख रुपैयाँ छुटाइएको छ।
१० वर्षे योजनाले देखाएको नयाँ बाटो
काँक्रेविहारको संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि हालै १० वर्षे विशेष कार्य योजना अघि बढाइएको विवरणसमेत सार्वजनिक भएको छ। दीर्घकालीन योजना कार्यान्वयनमा आए काँक्रेविहारको संरक्षणलाई वर्षेनी आउने बजेट र टुक्रे योजनाबाट माथि उठाएर व्यवस्थित रूपमा अघि बढाउन सकिने अपेक्षा गरिएको छ।
ऐतिहासिक सम्पदाको संरक्षणसँगै अनुसन्धान, अभिलेखीकरण, पर्यटक व्यवस्थापन, पूर्वाधार, प्रचारप्रसार र स्थानीय समुदायको सहभागितालाई योजनाको केन्द्रमा राख्न आवश्यक छ।
डिजिटल प्रचारमा जोड
पर्यटनको स्वरूप परिवर्तन भएसँगै गन्तव्यको डिजिटल प्रचार पनि महत्त्वपूर्ण बनेको छ। काँक्रेविहारको इतिहास, धार्मिक महत्त्व, वास्तुकला, पुरातात्त्विक पक्ष, पुग्ने बाटो र आसपासका पर्यटकीय क्षेत्रबारे प्रमाणमा आधारित डिजिटल सामग्री तयार गरी सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत प्रचार गर्न सके यसको पहुँच राष्ट्रिय सीमाभन्दा बाहिरसम्म पु¥याउन सकिन्छ।
विशेष गरी युवा पुस्तालाई लक्षित गरेर छोटा भिडियो, फोटो कथा, डिजिटल अभिलेख र भर्चुअल भ्रमणजस्ता सामग्री तयार गर्न सके काँक्रेविहारलाई नयाँ पुस्तासँग जोड्न सहज हुनेछ।
संरक्षणमा समुदायको सहभागिता
नागरिक अगुवा राजेन्द्र शाह कर्णालीको पर्यटन विकास नयाँ गन्तव्य खोज्नुमा मात्र सीमित हुन नहुने बताउँछन्। विद्यमान ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
उनका अनुसार काँक्रेविहारलाई धार्मिक आस्थाको स्थलका रूपमा मात्र नभई इतिहास, कला, संस्कृति र प्रकृतिको संगम भएको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके वीरेन्द्रनगरको पर्यटन अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुग्न सक्छ।
काँक्रेविहारको संरक्षण सरकारको मात्र जिम्मेवारी नभई स्थानीय समुदाय, पर्यटन व्यवसायी, नागरिक समाज, इतिहास तथा पुरातत्त्वका जानकार र स्थानीय तहको साझा प्रयासबाट सम्भव हुने देखिन्छ।
अब काँक्रेविहारलाई कसरी चिनाउने ?
काँक्रेविहारसँग इतिहास छ, कला छ, धार्मिक महत्त्व छ र प्रकृति पनि छ। आवश्यक छ त केवल यी सबै पक्षलाई एउटै पर्यटन अवधारणामा जोडेर व्यवस्थित रूपमा अघि बढाउने इच्छाशक्ति र योजना।
सरकारले विनियोजन गरेको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, १० वर्षे योजनालाई परिणाममुखी बनाउने, सडक तथा आधारभूत पूर्वाधार सुधार गर्ने, ऐतिहासिक संरचनाको मौलिकता जोगाउने र डिजिटल माध्यमबाट यसको प्रचारप्रसार बढाउने हो भने काँक्रेविहार प्रदेश राजधानीको सामान्य घुमफिर गर्ने स्थलभन्दा माथि उठ्न सक्छ।
त्यसले काँक्रेविहारलाई कर्णालीको विगत सम्झाउने सम्पदाका रूपमा मात्र होइन, स्थानीय रोजगारी र आयआर्जन सिर्जना गर्ने भविष्यको पर्यटन गन्तव्यका रूपमा समेत स्थापित गर्न सक्छ।















प्रतिक्रिया