Logo

मनोरञ्जन

‘झिंगेदाउ २’ को ट्रेलर सार्वजनिक, निर्देशक देउजा भन्छन् ‘दर्शकको उत्साहले झन् आशावादी बनाएको छ’



काठमाडौं । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगेदाउ २’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा दाजुभाइ तथा देउरानी–जेठानीबीचको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमाको खोजीलाई प्रस्तुत गरिएको छ ।

ट्रेलर सार्वजनिक भएपछि दर्शकको प्रतिक्रिया उत्साहजनक रहेको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् । नेपाल न्यूज बैंकसँग कुरा गर्दै देउजाले फिल्मको सुरुवाती टिजर, फस्र्ट लुकदेखि नै दर्शकको चासो बढ्दै गएको र तीज गीत सार्वजनिक भएपछि उत्साह थप बढेको बताए ।

उनका अनुसार ‘झिंगेदाउ १’ युट्युबमा सार्वजनिक भएपछि पनि दर्शकको चासो थप बढेको थियो । टिकटक, युट्युबलगायत सामाजिक सञ्जालमा देखिएको भ्युज, सेयर तथा पोस्टिङले दर्शकको उत्साह प्रस्ट देखाएको उनको भनाइ छ ।

ट्रेलर सार्वजनिक गर्नुअघि भने आफूहरूमा केही डर रहेको देउजाले बताए । ‘झिंगेदाउ १’ प्रति दर्शकको हाइप बढिरहेका बेला ट्रेलरले त्यसलाई कायम राख्न सक्ला कि नसक्ला भन्ने चुनौती रहेको उनको भनाइ थियो । तर, ट्रेलर सार्वजनिक भएको केही समयमै सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाएपछि आफू उत्साहित भएको उनले बताए ।

उनले भने, ‘ट्रेलर सार्वजनिक गरेको १०–१५ मिनेटदेखि नै दर्शकको राम्रो प्रतिक्रिया आउन थाल्यो । यसले फिल्मप्रतिको उत्साह र जिज्ञासा बढाएको महसुस भएको छ । ‘झिंगेदाउ २’प्रति दर्शकको चासो र प्रतीक्षाले हामीलाई अझै आशावादी बनाएको छ ।’

फिल्म प्रदर्शनका लागि केही दिन मात्रै बाँकी रहेकाले पर्याप्त समय प्रचार–प्रसार गर्न नपाएकोमा भने उनले दुःख व्यक्त गरे । पछिल्लो समयको विपद्का कारण प्रचारमा समयको पाबन्दी भएको बताउँदै देउजाले अब दर्शक मनोरञ्जनतर्फ फर्किने आशा व्यक्त गरे ।

‘झिंगेदाउ २’ले दर्शकलाई मनोरञ्जनसँगै दुःख भुल्न र कठिन परिस्थितिबाट अघि बढ्न सहयोग गर्ने उनको विश्वास छ । दर्शकले फिल्मलाई माया गर्नेमा आफू निकै आशावादी रहेको उनले बताए ।

फिल्मको व्यापारप्रति पनि आफू पूर्ण रूपमा आशावादी रहेको देउजाको भनाइ छ । फिल्मको ट्रेलर, तीज गीत तथा फस्र्ट लुकमा दर्शकले देखाएको चासोले ‘झिंगेदाउ २’को प्रतीक्षा भइरहेको संकेत गरेको उनले बताए ।

उनले भने, ‘झिंगेदाउ २’ले दर्शकलाई मनोरञ्जनसँगै अहिलेको दुःख र कठिन परिस्थितिलाई भुल्न केही सहयोग गर्छ भन्ने विश्वास छ । ट्रेलर, तीज गीत र फस्र्ट लुकमा दर्शकले देखाउनुभएको चासोले उहाँहरू फिल्मको प्रतीक्षामा हुनुहुन्छ भन्ने देखाएको छ । त्यसैले फिल्मको व्यापारप्रति म पूर्ण रूपमा आशावादी छु ।’

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन रहेको छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता छन् ।

विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन रहेको छ । फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाललगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आईतवार १९:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।