काठमाडौं । काठमाडौँ उपत्यकामा बिक्री वितरण हुँदै आएको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। पृथ्वी राजमार्गमा यातायात सुचारु भएसँगै नेपाल एलपी ग्यास उद्योग सङ्घले साबिककै मूल्य अर्थात् प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा ग्यास बिक्री वितरण गर्न निर्देशन दिएको हो । घटेको मूल्य यही असोज २ गते शुक्रबारदेखि लागू हुनेछ ।
यसअघि कृष्णभीरमा राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपरेकाले उद्योगीहरूले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त लागत जोडेर ग्यास बिक्री गर्दै आएका थिए।
अहिले अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्र्याक खोलेर यातायात सुचारु भएसँगै एल.पी.ग्यासका बुलेटहरू सामान्य रूपमै काठमाडौँ आउन थालेका छन्। वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता हटेसँगै सङ्घले थपिएको ढुवानी भाडा हटाउने निर्णय गरेको हो ।
नेपाल एलपी ग्याँस उद्योग सङ्घका अध्यक्ष दिवान चन्दद्वारा जारी परिपत्रमा काठमाडौँ उपत्यकामा ग्यास बजारीकरण गर्ने सम्पूर्ण उद्योगीहरूलाई शुक्रबारदेखि निगमले तोकेको मूल्य रु.२,०६० भन्दा नबढाई बिक्री वितरण गर्न र आफ्ना विक्रेता (डिलर) हरूलाई पनि सोही अनुसार जानकारी गराउन कडा निर्देशन दिइएको छ ।
















प्रतिक्रिया