काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की सचिव तथा ग्लोबल हेल्थ कमिटीकी सहअध्यक्ष प्रसुना कँडेलले बाढी तथा विपद्पछि नुवाकोट, रसुवा र धादिङका प्रभावित क्षेत्रमा शारीरिकसँगै मानसिक स्वास्थ्य समस्या समेत बढेको बताएकी छन् ।
मेडिकल टिमसहित प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेकी कँडेलले विपद्पछि प्रभावित नागरिकमा एक्युट स्ट्रेस, निद्रा नलाग्ने, छालासम्बन्धी, श्वासप्रश्वासमा समस्या, झाडापखाला, सिजनल फ्लु तथा दीर्घरोग थप जटिल बनेको पाइएको बताइन् ।
एनआरएनएको मेडिकल टिमको नेतृत्व गर्दै नुवाकोट पुगेकी कँडेलले डाक्टर, नर्स तथा साइकोसोसियल काउन्सिलरसहितको टोली लिएर प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिइन् ।
उनका अनुसार नुवाकोटमा पुगेपछि सुरुमा सातवटा होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो । तर विपद्को समयमा राहत तथा स्वास्थ्य टोलीलाई तत्काल प्रभावित क्षेत्रमा पुगेर काम गर्न प्रक्रियागत झन्झट देखिएको उनको अनुभव छ ।
उनले भनिन्, ‘त्रिशूली बजारभन्दा माथि त्रिशूली अस्पतालको नजिक एउटा स्कूलमा होल्डिङ सेन्टर थियो, पहिलो दिन त्यहाँ गयौँ । त्यहाँको अवस्था शब्दमा व्यक्त गर्न कठिन लागिरहेको छ । कसैको बुवा–आमा हुनुहुन्न, कसैको श्रीमान् हुनुहुन्न, कसैको श्रीमती छैन । सबै परिवारहरू एकदमै क्षतविक्षतको अवस्थामा पायौं ।’
कँडेलका अनुसार आफूहरू स्वास्थ्य उपचारका लागि पुगे पनि सुरुमा प्रभावित परिवारहरूको प्राथमिकता राहत सामग्रीमा बढी केन्द्रित थियो । उपचारका क्रममा भने प्रभावितहरूमा मानसिक स्वास्थ्यको समस्या गम्भीर देखिएको उनले बताइन् ।
उनले भनिन्, ‘विशेषगरी एक्युट स्ट्रेस अनि शकको समस्या धेरै देखियो । उहाँहरूले आफ्नो इमोसनहरू प्रोसेस गर्न सक्नुभएको थिएन, के भएको भन्ने नै थाहा थिएन । उहाँहरु बाढी आएको वा उर्लेर आएको मात्रै मात्रै बयान गर्नुभएको थियो ।’
विपद्पछि धेरै प्रभावितमा निद्रा नलाग्ने समस्या देखिएको उनले बताइन् । त्यसैगरी बाढीले बगाएर ल्याएको फोहोर तथा दूषित वातावरणका कारण छालामा ¥यास, आँखामा समस्या, श्वासप्रश्वासमा कठिनाइ र सुख्खा खोकी देखिएको उनको भनाइ छ ।
दीर्घरोगी थप समस्यामा
कँडेलले विपद्का कारण दीर्घरोगीहरू थप समस्यामा परेको बताइन् । बाढीले नियमित सेवन गरिरहेका औषधि, स्वास्थ्यसम्बन्धी कागजात तथा अन्य सामग्री बगाएपछि कतिपय बिरामीले आफूले सेवन गरिरहेको औषधिसमेत पहिचान गर्न नसक्ने अवस्था रहेको उनले बताइन् ।
उनका अनुसार मुटु रोग, दम, आर्थराइटिस, क्यान्सर तथा मिर्गौलासम्बन्धी समस्या भएका बिरामीको स्वास्थ्य अवस्था थप बिग्रिएको थियो ।
उनले भनिन्, ‘हामीले ब्लड सुगर जाँच गर्दा एकदमै नाजुक अवस्था पायौं । औषधि नभएको कारणले आफ्नो एक्जिस्टिङ मेडिकल कन्डिसन नै एग्रिभेट भएको त्यस्तो पनि देख्यौँ ।’
कँडेलले प्रभावित बालबालिकामा झाडापखाला, आँखामा समस्या, छालामा समस्या तथा डिहाइड्रेसन देखिएको बताइन् । पछिल्लो समय रसुवामा भने सिजनल फ्लु, ज्वरो, शरीर दुख्ने, टाउको दुख्ने र सुख्खा खोकीलगायत समस्या देखिएको उनले जानकारी दिइन् ।
मानसिक स्वास्थ्यमा पनि गम्भीर असर
बरिष्ठ नर्स समेत रहेकी कँडेलका अनुसार विपद्को प्रत्यक्ष असरबाट प्रभावित नागरिकमा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) को समस्या पनि देखिएको छ ।
उनले रसुवा र नुवाकोटमा पीटीएसडीको समस्या तुलनात्मक रूपमा बढी देखिएको बताइन् । स्थानीय एनजीओ तथा साइकोसोसियल काउन्सिलरहरूले मानसिक स्वास्थ्यका क्षेत्रमा काम सुरु गरे पनि थप दीर्घकालीन कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।
अब पुनर्निर्माणमा ध्यान दिनुपर्ने
उनले नुवाकोटमा आधारभूत राहत सामग्री पर्याप्त मात्रामा पुगेको आफूले पाएको बताइन् । दाल, चामल, कपडा लगायतका सामग्री प्रभावित क्षेत्रमा पुगेको भन्दै अब राहतभन्दा पुनर्निर्माण र पुनस्र्थापनामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उनले भनिन्, ‘अब त्यहाँ अहिले राहत भन्दापनि रिकन्स्ट्रक्सन, रिह्याबिलिटेसनमा ध्यान दिनुपर्छ । कम्युनिटी हाउजिङहरू प्रोभाइड गर्ने हो कि, त्यहाँबाट स्थानान्तरण गरेर अन्त लाने हो कि, त्यसबारे सोच्नुपर्ने देखिन्छ ।’
रसुवाका केही दुर्गम क्षेत्रमा भने पहुँच कठिन भएकाले राहत तथा आवश्यक सामग्री पु¥याउन अझै चुनौती रहेको भन्दै विशेषगरी रसुवाको उत्तरगया गाउँपालिकाका केही क्षेत्रमा हेलिकप्टरबाट सामग्री लैजानुपर्ने अवस्था रहेको उनले बताइन् ।
आपत्कालीन अवस्थामा प्रक्रियागत झन्झट कम गर्नुपर्ने
कँडेलले आपत्कालीन अवस्थामा राहत तथा स्वास्थ्य टोली परिचालन गर्दा प्रक्रियागत झन्झटले केही ढिलाइ हुने गरेको अनुभव सुनाइन् ।
उनका अनुसार नियमित अवस्थामा डेटा संकलन, समन्वय र स्रोतको व्यवस्थापनका लागि स्थानीय तहको अनुमति र ‘वान डोर पोलिसी’ उपयोगी भए पनि आपत्कालीन अवस्थामा तत्काल सेवा प्रदान गर्न स्थानीय तहलाई केही लचकता दिनुपर्ने आवश्यकता छ ।
करिब ७ देखि ८ सय बिरामीको स्वास्थ्य परीक्षण
कलाकारिता र समाजसेवामा पनि सक्रिय कँडेलले एनआरएनएको टोलीले नुवाकोट, धादिङ र रसुवामा गरी ठूलो संख्यामा प्रभावितको स्वास्थ्य परीक्षण गरेको जानकारी दिइन् ।
उनका अनुसार धादिङको गल्छीमा मात्रै करिब ३७५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने नुवाकोट र रसुवामा गरी करिब ७ सयदेखि ८ सय बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
उनले नुवाकोटमा विदुर, तुप्चे तथा किस्पाङका केही क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गरिएको र रसुवामा चार दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिइन् ।
कँडेलले काठमाडौं केन्द्रित स्वास्थ्य प्रणालीले मात्रै देशको स्वास्थ्य आवश्यकता पूरा गर्न नसक्ने पनि बताइन् । दुर्गम तथा प्रभावित क्षेत्रमा चिकित्सक र नर्सको अभाव रहेको भन्दै त्यहाँ स्वास्थ्यकर्मी टिकाइराख्न विशेष सुविधा तथा प्रोत्साहन दिनुपर्ने उनको भनाइ छ ।
रसुवामा स्वास्थ्यकर्मीको समेत अभाव रहेको उल्लेख गर्दै उनले त्यहाँ नर्स, अनमी, सीएमए, ल्याब असिस्टेन्टलगायत सीमित जनशक्तिबाट स्वास्थ्य सेवा सञ्चालन भइरहेको बताइन् ।
उनले दुर्गम क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई अतिरिक्त इन्सेन्टिभ, सुरक्षा तथा आवश्यक तालिम उपलब्ध गराउनुपर्ने बताइन् ।

















प्रतिक्रिया