Logo

राजनीति

कांग्रेसको १५औँ महाधिवेशन: सुनसरी क्षेत्र नं. ४ मा निर्वाचनका क्रममा विवाद, निर्वाचन प्रक्रिया स्थगित



सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको छ । मतदानस्थलमा भएको विवाद र अराजक गतिविधिका कारण स्थिति तनावग्रस्त बनेपछि नेता तथा कार्यकर्ताहरूले घटनामा संलग्न गैरजिम्मेवार व्यक्तिहरूमाथि कडा छानबिन गरी कारबाहीको माग गरेका छन् ।

सुनसरीको कोशी गाउँपालिकास्थित लौकही सिटी हलमा भइरहेको क्षेत्रीय अधिवेशनको मतदानका क्रममा मतपत्र र मतपेटिकालाई लिएर दुई पक्षबीच विवाद चर्किएको थियो । क्षेत्रीय सभापति पदका उम्मेदवारहरूबीचको प्रतिस्पर्धाका दौरान देखिएको विवादले उग्र रूप दिदैँ मतदानस्थलमा धकेलाधकेल तथा हात हालाहालको स्थिति सिर्जना भएको थियो । विवादका क्रममा मतपेटिकामाथि तोडफोडको प्रयास हुँदा मतपेटिका लडेको र मतपत्रहरू छरपस्ट भएको बताइएको छ । उक्त झडपका कारण केही मतदाता तथा उम्मेदवारहरू सामान्य घाइतेसमेत भएका छन् ।

पार्टीको आन्तरिक लोकतन्त्रलाई उपहास गर्ने गरी मतदानस्थलमा केही व्यक्तिहरूबाट प्रस्तुत भएको अराजक, अनुशासनहीन र गैरजिम्मेवारपूर्ण हर्कतप्रति आम नेता तथा कार्यकर्ताले तीव्र रोष प्रकट गरेका छन् । उनीहरूले पार्टीको आन्तरिक निर्वाचन जस्तो पवित्र अभ्यासलाई दूषित पार्ने र हुलदंगा मचाउने दोषीहरूलाई निष्पक्ष छानबिनको दायरामा ल्याई कडा कारबाही नगरिए पार्टीको साख कमजोर हुने चेतावनी दिएका छन् ।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनअन्तर्गतका आगामी सम्पूर्ण निर्वाचन कार्यक्रमहरू तत्कालका लागि रोक लगाउन निर्देशन दिएको छ । समितिले शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरण सुनिश्चित नभएसम्म निर्वाचन प्रक्रिया अघि नबढाउने स्पष्ट पारेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म खसेका मतपत्रसहितका मतपेटिकालाई सुरक्षा निकायको कडा निगरानीमा सुरक्षित सिलबन्दी गरी राखिएको छ । यस विषयमा थप छानबिन गरी आगामी निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने बारेमा केन्द्रीय निर्वाचन समितिले आवश्यक निर्णय लिने बताइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार १३:४९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।