काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले कांग्रेसलाई परम्परागत ढर्राबाट अघि बढाउने नभई संगठनात्मक सुधार र नयाँ राजनीतिक संस्कारमार्फत रूपान्तरण गर्ने एजेन्डासहित उम्मेदवारी घोषणा गरेका हुन्।
कर्णले कांग्रेसलाई जनतासँग पुनः जोड्दै बलियो, व्यवस्थित, पारदर्शी र जनमुखी संगठनका रूपमा विकास गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्। त्यसका लागि क्रियाशील सदस्यता प्रणालीमा सुधार, वडा तहदेखि केन्द्रसम्म संगठनको पुनर्संरचना र कार्यकर्ताको सम्मान तथा सहभागिता सुनिश्चित गर्ने योजना उनले अघि सारेका छन्।
युवालाई नेतृत्वमा पर्याप्त अवसर दिनुपर्ने र पार्टीका नेता–कार्यकर्ताका लागि नियमित राजनीतिक प्रशिक्षणको व्यवस्था गर्नुपर्नेमा पनि कर्णले जोड दिएका छन्। नेतृत्व र कार्यकर्ताबीच प्रत्यक्ष संवाद बढाउँदै कांग्रेसलाई जनताका वास्तविक समस्या र मुद्दासँग जोड्नुपर्ने उनको भनाइ छ।
कांग्रेस अधिवेशनका बेला मात्र सक्रिय हुने नभई हरेक दिन जनताको बीचमा रहने पार्टी बन्नुपर्ने उनले बताएका छन्।
‘यो उम्मेदवारी पदका लागि मात्र होइन, संगठन सुधार, नयाँ राजनीतिक संस्कार र जनतासँग कांग्रेसको सम्बन्ध पुनः स्थापित गर्ने संकल्प हो,’ कर्णले भनेका छन्।



















प्रतिक्रिया