Logo

अटो

बीवाईडी एट्टो १ को दोस्रो पुस्ता सार्वजनिक, ड्राइभर सिटमै मसाज सुविधा



काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीले लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक एट्टो १ को दोस्रो पुस्ता सार्वजनिक गरेको छ। चिनियाँ बजारमा ‘सिगल’ नामले बिक्री हुने नयाँ पुस्ताको एट्टो १ मा थप सुविधा र प्रविधि समावेश गरिएको छ।

नयाँ एट्टो १ मा ड्राइभर सिटमै मसाज सुविधा उपलब्ध गराइएको छ। त्यस्तै, अगाडिको भागमा ९४ लिटर क्षमताको स्टोरेज थप गरिएको छ। गाडीको भित्री भागमा मल्टिकलर एम्बियन्ट लाइटिङ, ३/७ स्प्लिट डिजाइनको ठूलो फ्लोटिङ स्क्रिन तथा पछाडिका यात्रुका लागि समायोजन गर्न मिल्ने एयर भेन्ट राखिएको छ।

दोस्रो पङ्क्तिको सिटमुनि थप स्टोरेज कम्पार्टमेन्टसमेत दिइएको छ। रियर–ह्विल ड्राइभमा आधारित नयाँ एट्टो १ को लम्बाइ ४ हजार २०५, चौडाइ १ हजार ८१० र ह्विलबेस २ हजार ६५० मिलिमिटर छ।

यसमा ९५ किलोवाटको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ। ३० देखि ३९.२ किलोवाट आवर क्षमताका ब्याट्री विकल्पमा उपलब्ध हुने यो कारले सीएलटीसी मापदण्डअनुसार ३२० देखि ४२० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ।

बीवाईडीले नयाँ मोडलमा ‘फ्ल्यास चार्जिङ’ प्रविधि पनि दिएको छ। यसबाट १० प्रतिशतबाट ९७ प्रतिशतसम्म ब्याट्री चार्ज गर्न करिब ९ मिनेट लाग्ने दाबी गरिएको छ। ‘गड्स आई’ एडीएएस प्रणालीका लागि रूफमा लिडार जडान गर्ने विकल्पसमेत उपलब्ध हुनेछ।

चिनियाँ बजारमा नयाँ एट्टो १ को मूल्य १ लाख युआनभन्दा कम हुने अनुमान गरिएको छ। बजारमा यसले जिली ईएक्स२ लगायतका विद्युतीय ह्याचब्याकसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

नेपालमा पनि एट्टो १ बिक्री हुँदै आएको छ। नेपाली बजारमा हाल ३०.०८ किलोवाट आवरको डायनमिक र ३८.८८ किलोवाट आवरको प्रिमियम भेरियन्ट उपलब्ध छन्। यी दुई भेरियन्टको मूल्य क्रमशः ३० लाख ७५ हजार र ३४ लाख ८० हजार रुपैयाँ रहेको छ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार ०८:१३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।