Logo

प्रमुख समाचार

जनमत पार्टीको अध्यक्षमा पुनः राउत, महासचिवमा यादव विजयी



काठमाडौं । जनमत पार्टीको अध्यक्षमा पुन: डा. सीके राउत निर्वाचित भएका छन् । भर्खर सम्पन्न भएको मतगणनाअनुसार अध्यक्षमा राउत र महासचिवमा सञ्जय यादव निर्वाचित भएका हुन् ।

वीरगञ्जमा आयोजित महाधिवेशनमा भएको निर्वाचनमा राउत ९५८ मतसहित अध्यक्ष निर्वाचित भएका हुन् । २६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि मतदान भएको थियो । अध्यक्ष पदमा डा. सीके राउतको मात्र उम्मेदवारी परे पनि पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान भएकाले राउतको पक्षमा पनि मतदान भएको थियो ।

यसैगरी उपाध्यक्षमा अनिताकुमारी मण्डल (सिरहा), अनितादेवी साह (धनुषा), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु), बसन्तकुमार कुशवाहा (रौतहट), डा. जयकान्त राउत (सप्तरी), राजयकुमार यादव (सिरहा) र माधवप्रसाद सिंह (पर्सा) विजयी भएका छन् ।

उपाध्यक्ष पदमा ११ जना प्रतिस्पर्धामा थिए ।

त्यस्तै महासचिव पदमा सञ्जयकुमार यादव (सिरहा) निर्वाचित भएका छन् । सिरहाका यादव ६१८ मत सहित महासचिव पदमा विजयी भएका हुन् । महासचिवका लागि ममता झा र चन्दनकुमार सिंहले पनि प्रतिस्पर्धा गरेका थिए । झाले २२० र सिंहले १६५ मत पाए । उनीहरुले २० प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको जनमत पार्टीले जनाएको छ ।

उपमहासचिव पदमा सिरहका निर्मलकुमार मण्डल ५०१ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत पाए ।

सचिव पदमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन् । ७ सचिवका लागि ९ जना चुनावी मैदानमा थिए । वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साह पराजित भए ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आईतवार १४:२८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।