Logo

अर्थ

लागुऔषध तस्करीको आरोपमा मुछिएको समूहको नयाँ धन्दा : बजारमा ‘एक्सट्रिम’ इनर्जी ड्रिंक



काठमाडौँ । एक दशकअघि लागुऔषध तस्करीविरुद्ध प्रहरीले चलाएको विशेष अपरेसनमा पक्राउ परेको समूह अहिले सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको इनर्जी ड्रिंकको व्यापारमा सक्रिय देखिएको छ । औषधि उद्योगका नाममा आयात गरिएको रसायन ‘लागुऔषध उत्पादन’ मा प्रयोग हुने गिरोहसम्म पुर्‍याएको आरोपमा प्रहरी अनुसन्धानमा तानिएको संघाई समूह अहिले एग्रो थाइफुडमार्फत ‘एक्सट्रिम इनर्जी ड्रिंक’’‘म्याक्स टाइगर’लगायतका पेय पदार्थ उत्पादन तथा आक्रामक तरिकाले बिक्री वितरण गरिरहेको पाईएको छ ।

लागुऔषध कारोबारका लागि प्रयोग हुने ठूलो परिमाणका रसायन बरामद काण्डमा मुछिएको समूह नै अहिले आकर्षक आवरण र आक्रामक प्रचारसहित सर्वसाधारणले दैनिक उपभोग गर्ने पेय पदार्थको बजारमा एकाएक देखिएछि यो समूहमाथि विभिन्न प्रश्न उठिरहेका छन्।

एक्सट्रिम इनर्जी ड्रिंकको सेवनले ज्यानै जानसक्ने जोखिमका घटना एकपछि अर्को गर्दै बाहिरिँ थालेपछि लागुऔषध कारोबार गर्दै आएको समूहले अहिले चाहिँ इनर्जी ड्रिंकको आवरणमा कस्तो किसिमको प्रोडक्टको व्यापार गरिरहेको छ ? भन्ने चासोसँगै चिन्ता बिस्तारै आमा सर्वसाधारणमा देखिन थालेको छ ।

आवरणमा सामान्य पेय पदार्थको कारोबार देखिए पनि जनस्वास्थमा परेका गम्भीर घटनाले यसको उत्पादनमा प्रयोग हुने रासायनिक पदार्थ, क्याफिनको मात्रा, गुणस्तर, उत्पादन प्रक्रियार उपभोक्ताको स्वास्थ्य सुरक्षासम्बन्धी विषयमा पर्याप्त प्रश्न उठेका छन् । अझ आकर्षक आवरण र आक्रामक प्रचारकै कारण बालबालिका तथा किशोरकिशोरीसम्म यस्ता पेय पदार्थको पहुँच बढिरहेका बेला तिनमा प्रयोग भएका रासायनिक पदार्थ तथा मिसावट गरिएका अन्य तत्वले स्वास्थ्यमा पार्न सक्ने प्रभावबारे गम्भीर बहस सुरु भएको छ ।

संघाई समूहको विवादित विगत, लागुऔषध कारोबारको धन्दा

त्यसो त केहि समयदेखि एक्सट्रिम इनर्जी ड्रिंकको व्यापार गर्दै आएको संघाई समूहको विगत पनि सामान्य व्यावसायिक विवादमा सीमित छैन । करिब १० वर्षअघि लागुऔषध नियन्त्रण ब्युरोले चलाएको ‘अपरेसन स्युडो’का क्रममा आर्या फर्माका रतनलाल संघाई पक्राउ परेका थिए ।

बारा जिल्ला अदालत बाराले औषधि बनाउन ल्याएको रसायन स्युडोइफ्रिडिन अन्तर्राष्ट्रिय लागू औषध कारोबारीलाई बिक्री गरेको आरोपमा पक्राउ परेका उद्योगी घराना संघाई १० लाख धरौटीमा छुटेका थिए। त्यस्तै, पाटन औद्योगिक क्षेत्रभित्र रहेको संघाई प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाममा औषधि रहेको सूचना पाएपछि ब्युरोले छापा मार्दा ९ सय ५२ वटा सेतो डिब्बामा ४ सय ७१ किलो ट्याब्लेट फेला पारेको थियो । भने मोहित हलानसँग गाडीमै २० किलो बरामत गरेको थियो।

सोहि घटनामा वेपत्ता भएका उनका भाइ पवन संघाईको समेत प्रहरीले खोजी गरेको थियो । पाटन औद्योगिक क्षेत्रमा रहेको संघाईको प्लास्टिक उद्योगबाट प्रहरीले औषधि उत्पादनका लागि आयात गरिएको तर, लागुऔषध उत्पादनमा प्रयोग हुन सक्ने रसायन बरामद गरेको थियो । प्रहरीका अनुसार संघाई समूहबाट करिब ७१ किलो एमफेटामाइन बनाउन सकिने २९ लाख ७४ हजार ट्याब्लेट बरामद भएको थियो।

बरामद रसायनको मूल्य मात्रै १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रहेको थियो । औषधि उद्योगका नाममा ल्याइएका रसायन चीन, भारतलगायतका मुलुकमा लागुऔषध उत्पादनका लागि पठाउने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । लागुऔषध कारोबार प्रकरणपछि संघाई समूहको व्यापारिक साखमा नराम्ररी खस्कियो। तत्कालीन जनता बैंकले संघाई समूहको सम्पत्तिमाथि लिलामी प्रक्रियामा अघि बढायो भने नेपाल राष्ट्र बैंकले सो समूहको सम्पूर्ण कारोबार रोक्का गर्यो ।

एक्सट्रिममा बेन्जाेइक एसिडको प्रयोग

तर, अहिले त्यही समूह उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको ‘इनर्जी ड्रिंक’ को बजारमा सक्रिय छ। ‘एक्सट्रिम इनर्जी ड्रिंक’मा बेन्जोइक एसिड, सोर्बिक एसिडजस्ता रासायनिक पदार्थ तथा उच्च क्याफिनको प्रयोगगरिएको भेटिएको छ। यी पदार्थ निर्धारित सीमाभित्र प्रयोग गर्न मिल्ने वा नमिल्ने, प्रयोग भएको मात्रा कति हो र नेपाली मापदण्डअनुसार उत्पादन सुरक्षित छ कि छैन भन्ने विषयको स्वतन्त्र परीक्षण गरिएको छैन ।

त्यसो त बिना परीक्षण नेपालमा बिक्री वितरण भएपछि ‘एक्सट्रिम इनर्जी ड्रिंक’ लगायतका केहि पेय पदार्थका नमुना भारतको हैदराबादस्थित कोम्पल्लीमा रहेको मेग्सन प्रयोगशाला र नाचरामस्थित लाभिन प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । नमुना पठाएको करिब ३७ दिन बितिसक्दा पनि परीक्षण प्रतिवेदन आएको छैन । ती प्रयोगशालाबाट सूक्ष्मजीवविज्ञान, रासायनिक संरचना तथा पोषणसम्बन्धी परीक्षणको तथ्यांक प्राप्त हुने अपेक्षा गरिएको छ ।

एक्सट्रिम इनर्जी ड्रिंक’ को सेवनले मिर्गौला फेल

यसबीच‘एक्सट्रिम इनर्जी ड्रिंक’को निरन्तर सेवनले एक युवाको मिर्गौला बिग्रिएको घटना सार्वजनिक भएको छ। ती युवाले अस्पतालको शैयाबाटै निरन्तर ५ महिना दिनमा ३/४ क्यान एक्सट्रिम इनर्जी ड्रिंक प्रयोग गरेपछि आफ्नो मिर्गौला फेल भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् आफ्नो मिर्गौला ड्यामेज हुनुको कारण ‘एक्सट्रिम इनर्जी ड्रिंक’भएको बताउँदै ती युवाले यो पेय पदार्थ सेवन नगर्न सुझाएका छन्।

त्यसकारण पनि बजारमा बिक्री भइरहेको ‘एक्सट्रिम इनर्जी ड्रिंक पेय पदार्थको वास्तविक अवस्था पत्ता लगाउने माग उठिरहेको देखिन्छ । प्रयोगशालाको प्रतिवेदन, संकलित अन्य प्रमाण र सम्बन्धित पक्षको धारणा समेटिएपछि मात्रै यसको वास्तविकता थप स्पष्ट हुने अपेक्षा गरिएको छ । इनर्जी ड्रिंक कति स्वादिलो छ भन्ने मात्र नभई यसको बोतलभित्र के छ, त्यसले उपभोक्ताको स्वास्थ्यमा कस्तो असर गरिरहेको छ भन्ने बिषय महत्वपुर्ण हुने देखिएको छ। सोहि कारण पनि विगतमा लागुऔषध कारोबारसँग जोडिएको विवादित संघाई समूहको यो नयाँ व्यापारको वास्तविक खेल के हो ? भन्ने बारे समेत स्पष्ट जवाफ खोज्नुपर्ने आवाज उठिरहेको छ।

यससम्बन्धमा बुझ्न हामीले कम्पनीका संचालक सौरभ संघाईलाई पटकपटक सम्पर्क गर्यौ तर हालसम्म पनि उनको प्रतिक्रिया आएको छैन । सौरभका पिता अर्थात लागुऔषध कारोबारी रतनलाई संघाईले भने यसबारे बोल्न चाहेनन् ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आईतवार १७:२८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।