काठमाडौं । बजारमा बिक्री हुने हरेक वस्तु सुरक्षित छ या छैन भन्ने विश्वास उपभोक्ताको हो । तर, यही विश्वासमाथि व्यापारिक स्वार्थ हाबी हुन थालेपछि उपभोक्ताको स्वास्थ्यको जिम्मेवारी कसको हो ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
पछिल्लो केहि समययता बजारमा विभिन्न आकर्षक नाम र ब्रान्डका इनर्जी ड्रिंकको बिक्री बढिरहेको छ । आकर्षक प्याकेजिङ, आक्रामक एवम् ठुल्ठुला बिज्ञापन र चर्चित अनुहारको प्रयोग गरी यस्ता पेय पदार्थलाई युवापुस्तामाझ ‘ऊर्जा’ र ‘स्टाइल’सँग जोडेर प्रस्तुत गर्ने क्रम पनि बढेको छ । त्यस्तै पेय मध्येको एक हो ‘एक्सट्रिम इनर्जी ड्रिंक।’ पछिल्लो केहि समययता ‘एक्सट्रिम इनर्जी ड्रिंक’ को प्रचारमा चर्चित अनुसारसँगै राष्ट्रिय खेलाडीलाई समेत प्रयोग गर्न थालिएको छ जसका कारण यसको चुस्त नियमन र भड्किलो प्रचारसम्बन्धी प्रश्न थप पेचिलो बनेको देखिन्छ ।
खेलाडीको लोकप्रियता किनेर ‘एक्सट्रिम इनर्जी’ बेच्दै संघाई
एक्सट्रिम इनर्जी ड्रिंकले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेसहित ९ खेलाडी किनिदिएको छ । टिम एक्सट्रिमको सदस्यका रूपमा आबद्ध राष्ट्रिय क्रिकेटमा सन्दीपसहित रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललितनारायण राजवंशी, शेर मल्ल, इशान पाण्डे, करण केसी र लोकेश बम छन् ।
सम्झौताअनुसार खेलाडीले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रिम इनर्जी ड्रिंकको लोगो हुनेछ । उनीहरूले एक्सट्रिमले आयोजना गर्ने विभिन्न प्रबर्द्धनात्मक ब्रान्ड तथा खेलकुदसम्बन्धि गतिविधिमा सहभागिता जनाउने छन् । नेपाली क्रिकेट विकास र युवापुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यका साथ ‘टिम एक्सट्रिम’ सदस्यका रूपमा खेलाडीलाइ आबद्ध गरिएको जनाइएको छ ।
त्यस्तै नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने सात फ्रेन्चाइज टिम समेट्दै एक्सट्रिमको विशेष संस्करणको क्यान सार्वजनिक गरिएको छ । एक्सट्रिमले एनपीएल सिजन ३ मा सात टिमलाई मुख्य प्रायोजन गरेको छ । काठमान्डु गोर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स र कर्णाली याक्सको मुख्य प्रायोजक एक्सट्रिम हो । यधपि एक्सट्रिम इनर्जी ड्रिंकले यो बाहेक ठूलो धनराशी खर्च गरेको बताइएको छ ।
एउटा पेय पदार्थको बजार विस्तारका लागि राष्ट्रिय खेलाडीको लोकप्रियता प्रयोग गरिनु आफैंमा अस्वाभाविक नहुन सक्छ । तर, यसको उत्पादनको संरचना, लेबलिङ, स्वास्थ्यसम्बन्धी चेतावनी, लक्षित उपभोक्ता र प्रचार सामग्रीबारे पर्याप्त जानकारी नदिई एकोहोरो अत्यन्तै लाभदायक भन्दै प्रचार गरिनु स्वाभाविक देखिँदैन ।
‘एक्सट्रिम इनर्जी ड्रिंक’ एग्रो थाई फुड्स प्रालि., पाटन औद्योगिक क्षेत्र, ललितपुरबाट उत्पादन हुँदै आएको पेय पदार्थ हो । कम्पनीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट इजाजतपत्र लिएको दाबी पनि गरेको छ । सरकारी निकायमा दर्ता वा इजाजतपत्र प्राप्त हुनु उत्पादनले सधैं र सबै अवस्थामा कानुन पालना गरिरहेको प्रमाण भने होइन । उत्पादनको गुणस्तर, लेबल, विज्ञापन, बजारमा वितरण र समय–समयमा हुने नियमनको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
लागुऔषध कारोबारबाट इनर्जी ड्रिंकमा प्रवेश
त्यस्तै कुनै पेय पिउनु अघि यसको उत्पादकबारे समेत जानकारी लिन आवास्यक हुन्छ । अहिले संघाई समूहअन्तर्गतको एग्रो थाइफुडमार्फत ‘एक्सट्रिम इनर्जी ड्रिंक’ र ‘म्याक्स टाइगर’ नामका पेय पदार्थ बजारमा बिक्री भइरहेका छन्। यो समूह औषधि उत्पादनका नाममा आयात गरिएको स्युडोइफ्रिडिनको अवैध कारोबार अर्थात् लागू औसध तस्करीको आरोपमा मुद्दा खेपेको समूह हो। अहिले सोहि समूह ठूलो उपभोक्ता बजार भएको इनर्जी ड्रिंक व्यवसायमा सक्रिय भएपछि त्यसको उत्पादन, गुणस्तर, नियमन र उपभोक्ता सुरक्षाका विषयमा प्रश्न उठ्न थालेका छन्। पुरानो प्रकरण सेलाएपछि यो समूह इनर्जी ड्रिंकको आवरणमा नयाँ व्यापारका सक्रिय देखिएको छ
एक्सट्रिम इनर्जी ड्रिंकमा सामान्यतः क्याफिन, टोरिन, चिनी लगायतका पदार्थ प्रयोग गरिन्छन् । क्याफिनको अत्यधिक सेवनले मुटुको धड्कन बढ्ने, निद्रामा समस्या हुने, बेचैनी तथा अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकीय चिन्ता रहँदै आएको छ । विशेषगरी बालबालिका, किशोरकिशोरी, गर्भवती महिला तथा क्याफिनप्रति संवेदनशील व्यक्तिका लागि यसको सेवनबारे अतिरिक्त सावधानी अतिआवश्यक मानिन्छ ।
यही कारण यस्ता पेयको बजार विस्तारसँगै नियमनको प्रश्न पनि सँगसँगै उठ्ने गरेका छन् । उत्पादन स्वीकृत छ कि छैन भन्ने मात्रै होइन, त्यसको प्रचार कसरी भइरहेको छ, कसलाई लक्षित गरिएको छ र उपभोक्तालाई आवश्यक चेतावनी दिइएको छ कि छैन भन्ने विषयमा पनि राज्यको निगरानी आवश्यक देखिन्छ ।
तर, यथार्थविपारीत अहिले देखिएको दृश्य फरक छ । बजारमा आफ्नो उत्पादन स्थापित गर्न कम्पनीहरू इन्फ़ुइन्सर, चर्चित अनुहार, सेलिब्रिटी र हुँदाहुँदा खेलाडीको लोकप्रियतालाई समेत विज्ञापनको माध्यम बनाइरहेका छन् । राष्ट्रिय टोलीका खेलाडीले लगाउने जर्सी, खेलमैदानमा देखिने अनुहार र सामाजिक सञ्जालमा उनीहरूको प्रभाव युवापुस्तामा पुग्ने भएकाले यसको व्यापारिक प्रभाव पनि ठूलो हुने हुँदा व्यापारीहरुले यसैलाई प्रचारको माध्यम बनाईरहेका छन् ।
त्यसैले अब प्रश्न यहाँ केवल एउटा कम्पनी वा एउटा पेय पदार्थको होइन । राष्ट्रिय खेलाडीको लोकप्रियता प्रयोग गरेर कुनै खाद्य वा पेय पदार्थको बजार विस्तार गर्दा त्यसको स्वास्थ्यसम्बन्धी दाबी र प्रचार सामग्रीमाथि राज्यले कस्तो निगरानी गरिरहेको छ ? भन्ने हो ।
नियमनकारी निकाय कहाँ ?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको काम नमुना संकलन गरेर प्रयोगशाला परीक्षण गर्नु र चाडपर्वका बेला बजार अनुगमन गर्नुमा मात्र सीमित हुनु हुँदैन । बजारमा निरन्तर बिक्री भइरहेका उत्पादनको नियमित परीक्षण, लेबलिङको अनुगमन, उपभोक्तालाई दिइएको जानकारीको परीक्षण र गलत वा भ्रामक प्रचार भए त्यसविरुद्ध कारबाही पनि नियमनकै हिस्सा हो ।
अर्कोतर्फ, बजारमा छ्यापछ्याप्ती भेटिने इनर्जी ड्रिंकबारे उपभोक्ता अधिकारका नाममा सक्रिय संस्थाहरूको भूमिकामाथि पनि उठिरहेको छ । उपभोक्ता अधिकारका नाममा बजारमा साना पसल र साना व्यवसायीमाथि अनुगमनको आवाज उठ्ने गर्दछ तर ठूला-ठूला ब्रान्ड, आक्रामक विज्ञापन र चर्चित अनुहार जोडिएका उत्पादनमाथि अनुसन्धान एवं प्रश्न नउठाउने हो भने उपभोक्ता संरक्षणको अभियान अधुरो रहन्छ ।
व्यापारिक कम्पनीले आफ्नो उत्पादन बेच्न खोज्नु स्वाभाविक हो । खेलाडीले विज्ञापन गर्नु पनि व्यावसायिक सम्झौताको विषय हुन सक्छ । तर, सार्वजनिक स्वास्थ्यसँग जोडिएको यस्ता पेय पदार्थको उत्पादनमा विज्ञापनको प्रभाव सामान्य वस्तुको भन्दा फरक हुन्छ । विशेषगरी राष्ट्रिय खेलाडी युवाका लागि आदर्श र प्रभावशाली अनुहार बन्न सक्छन् । उनीहरूको अनुहारमार्फत कुनै पेयलाई ‘ऊर्जा’, ‘फिटनेस’ वा खेलकुदसँग जोडेर प्रस्तुत गर्दा उपभोक्तामा त्यसको प्रभाव अझ गहिरो पर्न सक्छ । त्यसैले यस्ता कुरामा नियमन अति आवस्यक हुन्छ ।
तसर्थ , खेलाडीलाई विज्ञापनमा प्रयोग गर्ने कम्पनीले उत्पादनका सम्भावित जोखिमबारे उपभोक्तालाई पर्याप्त जानकारी दिएको छ कि छैन र नियमनकारी निकायले त्यसको परीक्षण गरेको छ कि छैन भन्नेमा सचेत हुन जरुरी हुन्छ ।
यदि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफूलाई प्राप्त अधिकारअनुसार बजारमा बिक्री भइरहेका यस्ता उत्पादनको परीक्षण गरेको छ भने त्यसको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । उत्पादन मापदण्डअनुसार छ भने पनि त्यसको आधार सार्वजनिक हुनुपर्छ । मापदण्डविपरीत भेटिएको छ भने कारबाही पनि हुनुपर्छ । किनकि सरकारी निकायमा दर्ता भएको भरमा कुनै उत्पादन प्रश्नभन्दा माथि हुँदैन । त्यस्तै, चर्चित खेलाडीको अनुहार जोडिएको भरमा पनि कुनै उत्पादन सुरक्षित वा असुरक्षित ठहरिँदैन ।




















प्रतिक्रिया