Logo

प्रमुख समाचार

कांग्रेस महामन्त्री उम्मेदवारी दिएकी डा.डिला संग्रौलाले अघि सारिन पाँच सूत्रीय प्रतिज्ञापत्र



काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा निवर्तमान सहमहामन्त्री तथा नेपाल महिला संघकी पूर्वअध्यक्ष डा.डिला संग्रौला पन्तले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन्।

नेपाली कांग्रेसको निर्वाचनसमितिले तोकेको स्थान राष्ट्रियसभा गृहमा पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।

उम्मेदवारी दर्तापश्चात् उनले पार्टीको वैचारिक, साङ्गठनिक र नीतिगत रूपान्तरणका लागि आफ्नो विस्तृत प्रतिज्ञापत्र सार्वजनिक पनि गरेकी छिन् ।

कांग्रेसको गौरवशाली इतिहास, लोकतान्त्रिक मूल्यमान्यता र बीपी कोइरालाको सिद्धान्तलाई आत्मसात गर्दै पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउने अठोट उनले व्यक्त गरेकी छन् ।

सार्वजनिक प्रतिज्ञापत्रमा डा.संग्रौलाले मुख्य पाँच कारणसहित आफ्नो उम्मेदवारीको औचित्य प्रस्तुत गरेकी छन्। विद्यार्थी राजनीति, महिला संघको कुशल नेतृत्व, संविधानसभा सदस्य तथा केन्द्रीय सहमहामन्त्रीको अनुभवलाई पार्टीको मुख्य कार्यकारी भूमिकामा उपयोग गर्ने उनले बताएकी छन्।

कांग्रेसलाई परम्परागत ढर्राबाट मुक्त गर्दै पारदर्शी र प्रविधिमैत्री ुडिजिटल कांग्रेसु बनाउने, पार्टीभित्रका गुट,उपगुटको अन्त्य गरी योग्यता र योगदानका आधारमा अवसरको न्यायोचित वितरण गर्ने, र पार्टीलाई सदन तथा सडक दुवै माध्यमबाट जनताका दैनिक समस्या, महँगी, बेरोजगारी र भ्रष्टाचार विरुद्ध खरो उत्रिने संगठन बनाउने प्रतिबद्धता उनले जनाएकी छन्।

प्रतिज्ञापत्रमार्फत डा.संग्रौलाले महामन्त्री पदका लागि सुदृढ, प्रविधिमैत्री र गतिशील संगठन निर्माण गर्ने पाँच सूत्रीय संकल्प अघि सारेकी छन्।

जसमा क्रियाशील सदस्यता प्रणालीलाई पूर्ण पारदर्शी र डिजिटल बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गरी सुशासन अभिवृद्धि गर्ने र युवाहरूलाई स्वदेशमै रोजगारी एवं उद्यमशीलतासँग जोड्ने नीति समावेश छन्।

साथै, पार्टीका निर्णयक तहमा ३३ प्रतिशतदेखि ५० प्रतिशतसम्म महिलाको अर्थपूर्ण उपस्थिति गराउने, बीपीको समाजवादलाई समसामयिक व्याख्या गरी नयाँ आर्थिक ढाँचा कार्यान्वयन गर्ने र मूल्याङ्कनका आधारमा निष्ठावान् कार्यकर्तालाई जिम्मेवारी दिने

परिपाटी बसाल्ने अठोट पनि उनले व्यक्त गरेकी छन्। उनले नेपालको समृद्धिमा प्रवासी नेपालीहरुको योगदानको कदर गर्दै ुएक पटकको नेपाली सधैंको नेपालीु कार्यान्वयन तर्फ कांग्रेसले पहल गर्ने पनि जनाइन्।

उनले विशेष महाधिवेशन र त्यो भन्दा अगाडी देखि नै आफुले कांग्रेस पार्टीभित्र सुधार र रुपान्तरणको लागि आवाज उठाउंदै आएको स्मरण गर्दै महामन्त्रीको पदमा आफुलाई विजयी बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई हार्दिक अपिल पनि गरेकी छिन्।

 

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार १८:१८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।