काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिका अनुसार विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जनको साइत तोकिएको छ। टीका लगाउँदा टीका लगाइदिने र लगाइमाग्ने दुवै जना पश्चिम दिशातर्फ फर्किनुपर्ने जनाइएको छ।
यस वर्ष असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुँदैछ। घटस्थापनाको शुभसाइत बिहान ११:४७ बजे रहेको छ। उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर मात्र घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ।
असोज २६ गते सोमबार बिहान १०:०७ बजे झण्डा फेर्ने शुभसाइत छ। झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्नेछ।
असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ। त्यसैगरी असोज ३१ गते शनिबार फूलपाती मनाइनेछ। फूलपातीका दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७:३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०:३९ बजे रहेको छ।
कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक ३ गते मंगलबार महानवमी परेको छ।
कार्तिक ४ गते बुधबार विजया दशमी, देवी विसर्जन तथा टीका लगाउने दिन हो। सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०:५१ बजे र स्थिरासनको शुभसाइत दिवा ११:५२ बजे रहेको छ। खड्गयात्रा पनि सोही दिन हुनेछ।
दशैंका विभिन्न विधि सम्पन्न भएपछि कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिने समितिले जनाएको छ।



















प्रतिक्रिया