काठमाडौं । नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपाली (एनआरएन) लाई प्राथमिक सेयर बजारमा आकर्षित गर्ने उद्देश्यले धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली संशोधन गरेको छ।
सरकारले ‘धितोपत्र दर्ता तथा निष्कासन (आठौं संशोधन) नियमावली, २०८३’ जारी गर्दै विदेशमा रहेका नेपाली लगानीकर्तालाई लक्षित गरी सेयर निष्कासन गर्न सक्ने व्यवस्था गरेको हो।
संशोधित नियमावलीअनुसार एनआरएनलाई लक्षित गरी सेयर निष्कासन गर्ने कम्पनीले आफ्नो जारी पुँजीको न्यूनतम १० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर निष्कासन गर्न सक्नेछन्। यस व्यवस्थाले विदेशमा रहेका नेपालीबाट पुँजी जुटाउन चाहने कम्पनीलाई प्राथमिक बजारमार्फत छुट्टै अवसर उपलब्ध गराएको छ।
तर, एनआरएनलाई लक्षित गरी निष्कासन गरिने सेयरमा प्रिमियम थप गर्न भने पाइने छैन। अर्थात् कम्पनीले अंकित मूल्यभन्दा बढी मूल्यमा यस्तो सेयर निष्कासन गर्न पाउने छैन।
यस्ता सेयरको दोस्रो बजार कारोबारका लागि समेत छुट्टै व्यवस्था गरिएको छ। संशोधित नियमावलीअनुसार धितोपत्र बजारले तोकेको प्रणालीमार्फत कारोबार हुनेछ भने न्यूनतम कारोबार इकाई १ हजार कित्ता तोकिएको छ।
सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गर्दै नियमावली संशोधन गरेको हो।



















प्रतिक्रिया