काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका राज्यमन्त्री एल मुरुगनले मन्त्री पद र राज्यसभा सदस्यताबाट राजीनामा दिने घोषणा गरेका छन्।
तमिलनाडुमा भारतीय जनता पार्टी को संगठन विस्तार गर्दै सन् २०२९ को लोकसभा निर्वाचनको तयारीमा जुट्न आफूले यस्तो निर्णय लिएको उनले बताएका छन्।
सूचना तथा प्रसारण र संसदीय मामिला मन्त्रालयका राज्यमन्त्री मुरुगनले मंगलबार प्रधानमन्त्री मोदीलाई पत्र लेख्दै मन्त्री पदबाट मुक्त गर्न र राज्यसभा सदस्यता त्याग्न अनुमति मागेका हुन्।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले तमिलनाडु फर्किएर पार्टी संगठनलाई बलियो बनाउन काम गर्ने बताए। प्रधानमन्त्री मोदीको हालैको तमिलनाडु भ्रमणका क्रममा जनताले देखाएको उत्साह, माया र समर्थनले आफूलाई राज्यमा थप सक्रिय भएर काम गर्न प्रेरित गरेको उनको भनाइ छ।
मुरुगनले सन् २०२९ को लोकसभा निर्वाचनअघि गाउँ तहसम्म पार्टीको संगठन विस्तार गर्ने र कार्यकर्तासँगै रहेर काम गर्ने योजना बनाएका छन्।
सोही योजनाबारे उनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख गरेका छन्। पार्टी र प्रधानमन्त्रीको नेतृत्वमा आफूले विभिन्न अवसर पाएको भन्दै उनले आभारसमेत व्यक्त गरेका छन्।
दैनिक ज्यालादारी गर्ने मजदुरको छोराबाट केन्द्रीय मन्त्रिपरिषद्सम्म पुग्नुलाई मुरुगनले आफ्नो जीवनको ठूलो अवसरका रूपमा लिएका छन्। अब भने आफू तल्लो तहमा फर्किएर कार्यकर्तासँगै पार्टी संगठन विस्तारमा पूर्णकालीन रूपमा खटिने उनले बताएका छन्।
मुरुगनले यसअघि राष्ट्रिय अनुसूचित जाति आयोगको उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालेका थिए। उनी दुई पटक राज्यसभा सदस्य बनेका छन् भने पाँच वर्षसम्म केन्द्रीय मन्त्रिपरिषद्मा रहेर काम गरेका छन्।




















प्रतिक्रिया