Logo

अर्थ

नेपाल–दक्षिण अफ्रिका व्यापार र लगानी विस्तारमा चेम्बरको जोड



काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत अनिल सुकलालबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तारका विषयमा छलफल भएको छ।

बुधबार चेम्बर भवनमा भएको भेटमा पूर्वाधार विकास, खानी तथा खनिज, ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रमा सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान भएको हो।

चेम्बर अध्यक्ष अग्रवालले नेपाल र दक्षिण अफ्रिकाबीच आर्थिक सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध, व्यापारिक प्रतिनिधिमण्डल आदानप्रदान, बजार पहिचान तथा संयुक्त लगानीलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले नेपाली पश्मिना, चिया, कफी, मसला तथा हस्तकलाका सामग्रीलाई दक्षिण अफ्रिकी बजारमा प्रवर्द्धन गर्न सकिने उल्लेख गरे। कृषि प्रशोधन, नवीकरणीय ऊर्जा र पर्यटन क्षेत्रमा पनि सहकार्यको पर्याप्त सम्भावना रहेको उनको भनाइ थियो।

अग्रवालले उत्पादनको गुणस्तर, प्राविधिक मापदण्ड, भन्सार शुल्क तथा ढुवानी खर्चसम्बन्धी सूचना आदानप्रदान प्रभावकारी बनाउन सके व्यापार विस्तारमा सहयोग पुग्ने बताए।

नेपालका उच्च मूल्यका कृषि उत्पादनलाई दक्षिण अफ्रिकाको सिँचाइ, शीतभण्डारण तथा कृषि प्रशोधनसम्बन्धी अनुभवसँग जोड्न सकिने उनको भनाइ छ। कृषि उत्पादनको प्रशोधन, प्याकेजिङ, भण्डारण र बजार व्यवस्थापनमा संयुक्त परियोजना सञ्चालन गर्न सके निर्यात प्रवर्द्धनसँगै रोजगारी सिर्जनामा पनि योगदान पुग्ने उनले बताए।

त्यस्तै, नवीकरणीय ऊर्जा, ऊर्जा भण्डारण, विद्युत् प्रसारण सञ्जाल तथा जलवायुमैत्री पूर्वाधार विकासमा सहकार्यका अवसर खोज्नुपर्नेमा अग्रवालले जोड दिए।

उनले नेपालको हिमाली तथा सांस्कृतिक पर्यटनलाई दक्षिण अफ्रिकाको वन्यजन्तु तथा सफारी पर्यटनसँग जोडेर संयुक्त पर्यटन प्याकेज विकास गर्न सकिने सम्भावनासमेत औँल्याए। दुई देशबीचको व्यापारिक सम्बन्धलाई परिणाममुखी बनाउन चेम्बर, कूटनीतिक नियोग तथा सम्बन्धित सरकारी निकायबीच नियमित संवाद आवश्यक रहेको अग्रवालको भनाइ छ। दुवै देशका निजी क्षेत्रका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमूह गठन, प्राथमिकताका वस्तु तथा सेवाको सूची निर्माण र सम्भावित लगानी परियोजना पहिचानमार्फत सहकार्य अघि बढाउन सकिने उनले बताए।

दक्षिण अफ्रिकाका राजदूत अनिल सुकलालले नेपालसँग निजी क्षेत्रको सहकार्यलाई व्यावहारिक रूपमा अघि बढाउन सकिने सम्भावित क्षेत्रबारे चर्चा गर्दै पूर्वाधार विकास र खानी तथा खनिज क्षेत्रलाई प्राथमिकतामा राख्न सकिने बताए।

उनका अनुसार दक्षिण अफ्रिकी कम्पनीहरूले मध्यपूर्वलगायत विभिन्न अन्तर्राष्ट्रिय बजारमा पूर्वाधार निर्माण तथा विकासका क्षेत्रमा काम गर्दै आएका छन्। उनीहरूको अनुभव नेपालका पूर्वाधार आयोजनामा उपयोगी हुन सक्ने उनले बताए। सुकलालले खानी तथा खनिज अन्वेषणमा दक्षिण अफ्रिकासँग लामो अनुभव र प्राविधिक दक्षता रहेको उल्लेख गर्दै नेपालमा उपलब्ध खनिज स्रोतको पहिचान, सम्भाव्यता अध्ययन तथा विकासमा सहकार्य गर्न सकिने बताए।

भेटमा व्यापार विस्तारका क्रममा ढुवानी तथा पारवहन, भिसा प्रक्रिया, गुणस्तर मापदण्ड र लगानी स्वीकृतिसम्बन्धी अवरोध समाधान गर्न द्विपक्षीय समन्वय प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइएको थियो।

भेटमा दक्षिण अफ्रिकाका लागि नेपालका मानार्थ वाणिज्यदूत प्रदीपलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा, आईटी समितिका सभापति विज्ञान श्रेष्ठलगायतको उपस्थिति थियो।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार १७:११   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।