काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै बौद्ध परम्पराअनुसार विशेष धार्मिक अनुष्ठान गरिएको छ ।
बुधबार स्वयम्भूस्थित ब्रकार गुम्बामा ११ जना बौद्ध धर्मावलम्बीको अन्तिम संस्कारअन्तर्गत दिन्ची दिम्पाको दिना गोङ्जो घेवा गरिएको हो ।
अनुष्ठानमा सहभागी राष्ट्रिय कलाकार डोमा ह्योल्मोले बौद्ध परम्पराअनुसार मृत्यु भएपछि गरिने फोवा र घेवा मृतकको आत्माको शान्ति तथा सद्गतिका लागि आवश्यक रहेको बताइन् ।
‘हाम्रो मान्छे बितेपछि एउटा फोवा भनेको गर्नैपर्छ । त्यो फोवा गरेन, घेवा गरेन भने उहाँको आत्मा शान्ति हुँदैन । उहाँको आत्मा भड्केर कता–कता हिँड्छ,’ उनले भनिन् ।
उनले घेवा र मेलम मृतकको आत्माले राम्रो बाटो प्राप्त गरोस्, जीवनमा गरेका ऋणबाट मुक्ति मिलोस् र स्वर्गमा बास होस् भन्ने कामनासहित गरिने धार्मिक विधि भएको बताइन् ।
‘त्यही भएर हाम्रो बुद्धिस्टले यो घेवा, मेलम गरेको मान्छेको ऋण खाएको छ भने काटोस्, उहाँ राम्रो बाटो लागेर जाओस्, स्वर्गको बास बसोस् भनेर हो,’ उनले भनिन् ।
ह्योल्मोले बौद्ध परम्परामा मानिसको मात्र नभई जनावरको मृत्युपछि पनि फोवा गर्ने चलन रहेको बताइन् । उनका अनुसार मृतकको आत्माले सद्गति प्राप्त गरोस् भन्ने विश्वासका साथ गरिने यस्तो धार्मिक विधि बौद्ध संस्कारको महत्त्वपूर्ण पक्ष हो ।
‘अनि हाम्रो संस्कारमा कुकुरहरू मर्दा पनि फोवा गर्नैपर्छ। त्यो गरेन भने उहाँ स्वर्गको बाटो लाग्दैन,’ उनले भनिन् ।
उनले बाढीमा ज्यान गुमाएकाहरूको चिरशान्तिका लागि गरिएको अनुष्ठानले संसारभर मृत्यु भएका मानिस तथा मारिएका जनावरको समेत उत्तम गति प्राप्तिको कामना गरेको बताइन् ।
‘आजको दिनको उहाँहरू मात्रै होइन, संसारमा कतिवटा मान्छे बिते नि होइन? सबै राम्रो बाटो लिएर जाओस् । जनावरहरू लाखौँ–लाखौँ मार्छ, त्यो सबै राम्रो जुनी लिएर जाओस्,’ उनले भनिन् ।
मेलमका क्रममा पढिने प्रार्थनाले मानिसको जीवन, आमाले गरेको त्याग र मृत्युपछिको यात्रालाई स्मरण गराउने उनले बताइन् ।
‘यो अहिले हामी एउटा पढ्छौँ नि, त्यो पढ्यो भने सबै रुन्छ। हामीले आमाको ऋण कसरी काट्ने? दूध खाएको छ, रगत चुसेको छ, काखमा बोकेको छ, एक्लै जानुपर्छ। आँसु नै आउने यस्तोहरू हुन्छ,’ उनले भनिन् ।
ह्योल्मोले मेलमलाई भजन नभई मृतकको नाममा गरिने प्रार्थनाका रूपमा व्याख्या गरिन्। यस्तो प्रार्थनाले मृतकले राम्रो बाटो र उत्तम जुनी प्राप्त गरोस् तथा अलपत्र पर्नु नपरोस् भन्ने कामना गर्ने उनको भनाइ छ ।
बौद्ध परम्पराअनुसार गरिएको उक्त अनुष्ठानमा बाढीमा ज्यान गुमाएकाहरूको चिरशान्ति, सद्गति र समस्त प्राणीको कल्याणको कामना गरिएको थियो ।




















प्रतिक्रिया