काठमाडाैं । नबिल सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल)ले आफ्ना सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको बिहीबार सम्पन्न १६औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् करसहित ३ करोड ३४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म प्रतिसेयर आम्दानी १२.६६ रुपैयाँ रहेको छ। सो अवधिमा वितरणयोग्य आम्दानी १२.६७ प्रतिशत रहेकोमा त्यसमध्येबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश दिने निर्णय भएको हो।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि हाल कायम लेखापरीक्षक एनबीएसएम एन्ड एसोसिएट्सलाई नै निरन्तरता दिने निर्णय गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले नेपालको पुँजी बजारमा मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोषसम्बन्धी सेवा सुरु गर्ने अग्रणी संस्थामध्ये आफू रहेको उल्लेख गरेको छ। तीन दशकभन्दा लामो समयदेखि नेपालको धितोपत्र बजारको विकास, विस्तार र संस्थागत सुदृढीकरणमा योगदान पुर्याउँदै आएको कम्पनीको भनाइ छ।
एलएस क्यापिटलले हाल करिब ६ अर्ब रुपैयाँ बराबरका ६ वटा बन्दमुखी म्युचुअल फन्ड र एउटा खुलामुखी म्युचुअल फन्ड गरी करिब ७ अर्ब रुपैयाँ बराबरका सामूहिक लगानी कोष सञ्चालन गरिरहेको जनाएको छ।
त्यस्तै, विशिष्टीकृत लगानी कोषअन्तर्गत १ अर्ब रुपैयाँ पुँजी भएको ‘नबिल सस्टेनेबल इनर्जी फन्ड’मार्फत दिगो ऊर्जा क्षेत्रमा लगानी भइरहेको कम्पनीले जनाएको छ।
एलएस क्यापिटल ‘Operating Principles for Impact Management’ मा हस्ताक्षर गर्ने नेपालको पहिलो संस्था समेत रहेको कम्पनीको दाबी छ। यसमार्फत सामाजिक तथा वातावरणीय प्रभावसहितको लगानीलाई पारदर्शी, अनुशासित र विश्वसनीय बनाउने लक्ष्य लिइएको कम्पनीले उल्लेख गरेको छ।




















प्रतिक्रिया