काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको इक्रा नेपालले प्रदान गर्दै आएको इस्युअर रेटिङ डबल ए माइनस (एए−) बाट स्तरोन्नति भई डबल ए (एए) कायम भएको छ ।
इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ स्तरोन्नति गरेको हो । इक्रा नेपालका अनुसार डबल ए (एए) रेटिङ प्राप्त संस्थाहरूले वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा उच्च स्तरको सुरक्षा तथा अत्यन्त न्यून कर्जा जोखिम बोकेका हुन्छन् ।
यसअघि नेपाल लाइफ जीवन बीमा क्षेत्रमै इक्रा नेपालबाट डबल ए माइनस (एए−) रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको थियो । उक्त रेटिङ थप एक तह माथि उक्लिएर डबल ए (एए) कायम हुनुलाई कम्पनीले आफ्नो वित्तीय सुदृढीकरण र संस्थागत उत्कृष्टताको उपलब्धिका रूपमा लिएको छ ।
इक्रा नेपालको पछिल्लो मूल्याङ्कनअनुसार कम्पनीको सोल्भेन्सी अनुपात अघिल्लो अवधिको करिब १४५ प्रतिशतबाट सुधार भई करिब १५४ प्रतिशत पुगेको छ । यो नियामक निकायले तोकेको न्यूनतम १३० प्रतिशतभन्दा बढी हो । कम्पनीले सरकारी सुरक्षणमा लगानी विस्तार गर्नुका साथै मुद्दती निक्षेपमा रहेको लगानीको एकाग्रता घटाएर लगानी पोर्टफोलियो विविधीकरण गरेको छ ।
आर्थिक वर्ष २०२५/२६ मा कुल बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफको बजार हिस्सा करिब २७ प्रतिशत रहेको छ । उक्त अवधिमा कम्पनीले करिब ५४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको जीवन बीमा कोष करिब २७३ अर्ब रुपैयाँ र पोलिसी लोनसहित कुल लगानी करिब २८५ अर्ब रुपैयाँ पुगेको छ ।
सन् २००१ देखि सञ्चालनमा रहेको कम्पनीले जुलाई २०२६ को मध्यसम्म देशभर १९६ शाखा, उपशाखा तथा क्षेत्रीय कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । देशव्यापी शाखा सञ्जाल, सशक्त अभिकर्ता संरचना, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन टोली र बलियो बजार उपस्थितिलाई इक्रा नेपालले कम्पनीका प्रमुख सबल पक्षका रूपमा उल्लेख गरेको छ ।
कम्पनीले जोखिम व्यवस्थापनलाई प्राथमिकता दिँदै नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँग पर्याप्त पुनर्बीमा व्यवस्था कायम गरेको छ । त्यस्तै, आकस्मिक तथा विपद्जन्य जोखिम व्यवस्थापनका लागि पर्याप्त विपद् जोखिम सुरक्षा व्यवस्था र करिब १ अर्ब ५४ करोड रुपैयाँको विपद् जगेडा कोष रहेको कम्पनीले जनाएको छ ।
रेटिङ स्तरोन्नतिप्रति प्रतिक्रिया दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसलाई निरन्तर सुधार, संस्थागत सुशासन, वित्तीय अनुशासन तथा सम्पूर्ण सरोकारवालाको विश्वासको प्रतिफलका रूपमा लिएका छन् ।
उनले डबल ए माइनस (एए−) बाट डबल ए (एए) मा भएको स्तरोन्नति कम्पनीको निरन्तर उत्कृष्टता, वित्तीय सुदृढता र दीर्घकालीन प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि भएको बताए । यसले कम्पनीलाई अझ जिम्मेवार, सुदृढ र दिगो संस्थाका रूपमा अगाडि बढ्न प्रेरित गरेको उनको भनाइ छ ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन् । आगामी दिनमा सोल्भेन्सी अवस्था थप सुदृढ बनाउने, लगानी विविधीकरण र विवेकपूर्ण जोखिम व्यवस्थापनलाई प्राथमिकता दिने तथा सरोकारवालाको दीर्घकालीन हित र विश्वासलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।





















प्रतिक्रिया