Logo

प्रमुख समाचार

अडियो प्रकरणको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग



काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको आधिकारिकताका विषयमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिनको माग गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित आकस्मिक पत्रकार सम्मेलनमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबारको पदाधिकारी बैठकले छानबिनका लागि माग गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले छानबिन प्रक्रियालाई अगाडि बढाउन र निष्कर्षमा पुर्‍याउन कांग्रेस उपसभापति एवं वरिष्ठ अधिवक्ता पुष्पा भुसाल र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई निरन्तर रूपमा पहल गर्ने जिम्मेवारी पनि सुम्पेको छ।

पार्टीलाई बदनाम गराउने बदनियतले सरकार निकटकै व्यक्तिहरूबाट नियोजित रूपमा भ्रम फैलाउने र अडियो नाटक उत्पादन गर्ने काम भइरहेको आरोप कांग्रेसले लगाएको छ।

वरिष्ठ उपसभापति शर्माले भने, कांग्रेसको आधिकारिकतामा आर्थिक लेनदेन भयो भन्नु ७ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको घोर अपमान हो, निर्वाचन आयोगको बदनामी हो, अदालतको ठाडो अवहेलना हो र सबै लोकतान्त्रिक प्रक्रियाको अनादर हो।

उनले यस्ता भ्रमको खेती गर्ने र अडियो नाटक रच्ने षड्यन्त्रकारीहरू कुनै न कुनै दिन कानुनी रूपमै उजागर हुने विश्वास व्यक्त गरे। बहस जनताका आधारभूत समस्या र राष्ट्रिय मुद्दामा हुनुपर्नेमा सरकारकै कारण विषयवस्तु अर्कैतिर मोडिएको शर्माको भनाइ छ।

सरकारले गर्नुपर्ने जनपक्षीय कामका लागि साथ दिने प्रतिबद्धता जनाउँदा पनि सरकार गैरजिम्मेवार बनेर बरालिएको शर्माको टिप्पणी छ ।

अन्तर्राष्ट्रिय जलवायु सम्मेलन कोप शुरू हुन पाँच दिनमात्र बाँकी छ, त्यसबारे देशको तयारी र छलफल हुनुपर्ने बेला सरकार पूर्ण रूपमा बेखबर र बेपर्वाह छ, शर्माले भने, सरकारको प्राथमिकता जलवायु संकट हुनुपर्नेमा नेपाल प्रहरीका आईजीपी हटाउनेतर्फ केन्द्रित हुनु अत्यन्तै गलत र दुर्भाग्यपूर्ण हो। अहिले सिंहदरबार र बालुवाटारमा विधिको शासन नभई रमिता चलिरहेको छ।

जनताको मतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपा ले सरकारको जिम्मेवारी पाएको र सोही जनमतअनुसार कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको स्पष्ट पार्दै उनले सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिता प्रदर्शन गर्न आग्रह गरे।

सत्तामा छु भन्दैमा जे मन लाग्यो त्यही गर्न नपाइने र राज्यका सबै काम विधि र प्रक्रियाअनुसार हुनुपर्नेमा कांग्रेसले जोड दिएको छ ।

उनले बिनाकारण प्रहरी महानिरीक्षकलाई हटाइएको, सरकारी उच्च अधिकारीहरूलाई नियन्त्रणमा लिएर आफू अनुकूलको निर्णय गर्न बाध्य पारिएको लगायतका घटनाप्रति उनले कांग्रेसको आपत्ति रहेको जनाए ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार १९:४५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।