काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (मंगलबार) एक खेल मात्र हुँदैछ । खेल बेलुकी ५ बजेबाट त्रिवि मैदान कीर्तिपुरमा शुरु हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्नेछन् ।
सुदूरपश्चिम जारी सिजनमा अहिलेसम्म ५ खेल खेलेकोमा तीन जीत र दुई हारसहित ६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । आज जित हात पार्न सके सुदूरपश्चिमलाई शिर्ष ४ अर्थात् प्लेअफमा पुग्न सहज हुनेछ । तर कप्तान दिपेन्द्र सिंह ऐरी चाहेको जस्तो फर्ममा नहुनुले सुदूरपश्चिमलाई पिरोलेको छ । यस्तै अर्का ब्याटर विनोद भण्डारी पनि यसपटक कमजोर फर्ममा देखिएका छन् जुन उसका लागि चिन्ताको विषय बनेको छ । त्यसैले सुदूरपश्चिम विदेशी खेलाडीको राम्रो प्रदर्शनको आशामा छ ।
यस्तै एनपीएलको पहिलो सिजनको विजेता टोली जनकपुर ५ खेलमध्ये २ खेल मात्र जितेर ४ अंक जोडेको छ । तालिकाको पाँचौ स्थानमा रहेको जनकपुर बाँकी खेल जित्दै शिर्ष ४ मा अटाउन चाहन्छ । त्यसैले पनि उसलाई आजको जितको धेरै महत्त्व छ ।
जनकपुरभन्दा मुनि विराटनगर, कर्णाली र पोखरा मात्र छन् । स्टार अलराउन्डर मोइन अलीको अभाव जनकपुरलाई खट्किने छ भने पूर्व कप्तान अनिल साह फर्ममा नहुनुले पिरोलेको छ । यसकारण जनकपुर पनि विदेशी खेलाडीको उच्च प्रदर्शनको बढी आशा छ ।





















प्रतिक्रिया