काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटामा गएको छ।
कम्पनीले सार्वजनिक गरेको २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ६५ लाख ४४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको खुद बीमाशुल्क आर्जनमा भने वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले चार अर्ब ८१ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ।
गत वर्षको सोही अवधिमा यस्तो रकम चार अर्ब ५० करोड ४६ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको खुद बीमाशुल्क आर्जन ६.९८ प्रतिशतले बढेको हो।
तर, बीमाशुल्क आर्जन बढे पनि कम्पनीको कुल आम्दानीमा गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीले पाँच अर्ब ४५ करोड ८९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी पाँच अर्ब ६२ करोड ५५ लाख रुपैयाँ थियो। यसरी कम्पनीको कुल आम्दानी २.९६ प्रतिशतले घटेको छ।
आम्दानी घटेको अवस्थामा कम्पनीको खर्च भने बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच अर्ब ४० करोड ५४ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब ४६ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ। आम्दानीमा आएको संकुचन र खर्चमा भएको वृद्धिले कम्पनीको वित्तीय नतिजा प्रभावित भएको देखिन्छ।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा समेत उल्लेख्य गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीले यस्तो शीर्षकबाट ५९ करोड रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट भएको आम्दानी एक अर्ब पाँच करोड ३३ लाख रुपैयाँ थियो।
यसको प्रत्यक्ष असर कम्पनीको प्रतिशेयर आम्दानीमा पनि देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा २.६८ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा ३.६२ रुपैयाँ ऋणात्मक भएको छ।
कम्पनीको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ। तर, सञ्चित नोक्सानी बढेर चार अर्ब ५३ करोड ३३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको सञ्चित नोक्सानी तीन अर्ब ६८ करोड ८१ लाख रुपैयाँ थियो।
सञ्चित नोक्सानी बढेसँगै कम्पनीको कुल इक्विटी चार अर्ब ३१ करोड २२ लाख रुपैयाँले ऋणात्मक रहेको छ। खुद बीमाशुल्क आर्जन बढे पनि लगानीबाट हुने आम्दानी घट्नु र खर्च बढ्नुले कम्पनीको वित्तीय अवस्था थप दबाबमा परेको देखिएको छ।





















प्रतिक्रिया