Logo

अर्थ

एशियन लाइफको नाफा ५.७९ प्रतिशतले बढ्यो, बीमा शुल्क आम्दानी २ अर्ब ८३ करोड



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफामा सामान्य वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा १५ करोड २५ लाख रुपैयाँ थियो। यससँगै कम्पनीको नाफा ५.७९ प्रतिशतले बढेको हो।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क आम्दानी २२.१६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

कम्पनीको कुल आम्दानी पनि १५.३२ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २३ करोड ७६ लाख रुपैयाँ रहेको कुल आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ३ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ पुगेको हो।

तर, आम्दानीसँगै कम्पनीको खर्च पनि बढेको छ। समीक्षा अवधिमा कुल खर्च १८.४३ प्रतिशतले वृद्धि भई ३ अर्ब ४६ करोड २४ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा अभिकर्तालाई दिइने कमिसन खर्चसमेत २०.४९ प्रतिशतले बढेर २२ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

बीमा व्यवसाय विस्तारसँगै कम्पनीको जीवन बीमा कोषको आकार पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ रहेको जीवन बीमा कोष १२.३९ प्रतिशतले बढेर समीक्षा अवधिमा ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको विपत्ति कोष ४.९१ प्रतिशतले वृद्धि भई ३४ करोड ५० लाख रुपैयाँ पुगेको छ। जगेडा कोषमा पनि २७.२६ प्रतिशतको वृद्धि देखिएको छ। गत वर्षको तुलनामा बढेर यस्तो कोष ६७ करोड ३ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११ रुपैयाँ ६२ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको समीक्षा अवधिमा १२ रुपैयाँ २९ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३ पैसा रहेको छ।

कम्पनीको चुक्ता पुँजी भने ५ अर्ब २५ करोड १२ लाख रुपैयाँमा स्थिर रहेको छ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आईतवार ०८:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।