महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमै दुई पक्षबीच कुटाकुट भएपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार झै–झगडाको विषयलाई लिएर वडा प्रहरी कार्यालयअगाडि दुई पक्षबीच विवाद हुँदा कुटाकुट भएको हो।
घटनामा संलग्न रहेको आरोपमा भीमदत्त नगरपालिका–५ का पाँच जना र भीमदत्त नगरपालिका–१७ का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको रावतले जानकारी दिए।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २२ वर्षीय रोशन लुहार, २७ वर्षीया निशा लुहार र २६ वर्षीय रोहित लुहार छन्। त्यस्तै, भीमदत्त नगरपालिका–१७ का २५ वर्षीय विशाल कोली पनि पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय परिसरमै कुटाकुट भइरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले चर्चा पाएको थियो।
यसैबीच, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न ६ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।





















प्रतिक्रिया