Logo

समाचार

पोलेको ठाउँमा टुथपेस्ट लगाउनुहुन्छ ? सावधान, झन् बढ्न सक्छ संक्रमणको जोखिम



भान्सामा खाना पकाउँदा तातो तेलको छिटा पर्नु, तातो भाँडा छुनु वा अन्य कारणले हातखुट्टा पोल्नु सामान्य हो।

यस्तो अवस्थामा धेरैले तत्काल राहत मिल्ने विश्वासमा पोलेको ठाउँमा टुथपेस्ट लगाउने गर्छन्। तर, स्वास्थ्य विशेषज्ञका अनुसार यो घरेलु उपाय सुरक्षित होइन। यसले छालामा थप जलन र संक्रमणको जोखिम बढाउन सक्छ।

टुथपेस्टले पोलेको ठाउँमा चिसोपन महसुस गराए पनि यसले पोलेको घाउ निको पार्दैन। बरु यसमा पाइने मिन्ट, फ्लेभर तथा अन्य रासायनिक तत्त्वले जलेको छालामा थप समस्या निम्त्याउन सक्छन्।

टुथपेस्ट लगाउँदा घाउको वास्तविक अवस्था पहिचान गर्न र सफा गर्नसमेत कठिन हुन सक्छ। त्यसैले पोलेको ठाउँमा टुथपेस्ट लगाउने बानी त्याग्न स्वास्थ्य विशेषज्ञले सुझाव दिएका छन्।

पोल्दा तत्काल के गर्ने रु स्वास्थ्य विशेषज्ञका अनुसार शरीरको कुनै भाग पोल्यो भने सबैभन्दा पहिले प्राथमिक उपचार गर्नुपर्छ। पोलेको भागलाई करिब २० मिनेटसम्म सामान्य चिसो बगिरहेको पानीमा राख्नुपर्छ।

औँला वा हात पोलेको छ भने सुन्निनुअघि औँठी, घडी तथा कसिला सामग्री हटाउनुपर्छ। छालामा टाँसिएको कपडा जबर्जस्ती तान्नु हुँदैन। पोलेको भाग चिस्याएपछि सफा, खुकुलो र घाउमा नटाँसिने पट्टीले छोप्न सकिन्छ।

यी गल्ती कहिल्यै नगर्नुहोस् पोलेको ठाउँमा टुथपेस्ट, घिउ, तेल वा बरफ लगाउनु हुँदैन। यस्ता वस्तुले घाउमा थप समस्या निम्त्याउन सक्छन्। त्यस्तै, पोलेको ठाउँमा फोका उठेका छन् भने फुटाउनु हुँदैन।

फोका फुटाउँदा संक्रमणको जोखिम बढ्न सक्छ। अनुहार, हातखुट्टा वा शरीरको ठूलो भाग पोलेको छ भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ। बालबालिका तथा वृद्धवृद्धा पोलेको अवस्थामा पनि विशेष सावधानी अपनाउन आवश्यक हुन्छ।

याद राख्नुहोस् स् पोलेको ठाउँमा घरेलु उपाय अपनाएर समय खेर फाल्नुभन्दा तत्काल २० मिनेट चिसो बगिरहेको पानीले प्राथमिक उपचार गर्नु सुरक्षित हुन्छ। गम्भीर रूपमा पोलेको अवस्थामा घरेलु उपचारमा निर्भर नभई तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार ०७:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।