कालीकोट । निर्माणका बिषयमा विवाद हुँदा दैलेखको आठबिस नगरपालिका प्रमुख प्रमुख प्रशासकीय भवनको निर्माणको काम अलपत्र परेको छ । सम्झौता भएको साढे चार वर्षदेखि निर्माण व्यवसायी र नगरपालिका बिचको प्राविधिक अन्योलता कारणले भवन निर्माण कार्य अलपत्र परेको हो ।
२०८१ साल चैतमा निर्माण सम्पन्न गर्ने गरि १० करोड ७१ लाख २२ हजार पाँच सय ५१ रुपैयाँमा नगरपालिकाले अबिशा निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौंसँग ठेक्का सम्झौता गरेको थियो । नगरपालिकाले २०७९ साल भदौं ५ गते निर्माण कम्पनीसँग सम्झौता गरेको भएपनि हालसम्म निर्माणको काम सम्पन्न हुन सकेको छैन् ।
नगरपालिकाले प्रशासकीय भवनको डिपिआर अनुसारका निर्माण कम्पनीले काम नगरेका कारणले समस्या भएको जनाएको छ । डिपिआरमा पर्खालमा इन्टरलक ब्लक लगाउने भनिएको र भवन निर्माण गर्दा रातो इट्टा वा इन्टरलक ब्लक प्रयोग गर्ने भन्ने विषयमा विवाद भएका कारणले चार वर्षसम्म अलपत्र परेको नगरपालिकाले जनाएको छ ।
प्राविधिक र डिपिआरको समस्याले निर्माणको काम अन्योलमा रहेको नगरपालिकाका नगरप्रमुख तर्कबहादुर बडुवालले बताए ।
‘भवन वाल डिपिआर अनुसार रातो इट्टा र इस्टेटमेन्टमा इन्टरलक ब्लक प्रयोग गर्ने भन्ने विषयमा विवाद भएपछि काम रोकिएको छ,’ उनले भने,‘भवन निर्माण नहुँदा अहिले टिनको टहराबाट बनेको प्रमुख प्रशासकीय भवनबाट सेवा दिदैँ आएका छौं ।’
भवन समयमै निर्माण नहुँदा विभिन्न शाखा टिनको टहरामा सञ्चालन गरिएको र निर्माण कम्पनीको लापरबाहीका कारण पटकपटक म्याद थप हुँदा समेत काम सम्पन्न हुन नसकेको नगर प्रमुख बडुवालले बताए ।
‘१० करोड ७१ लाख लागतमा निर्माण सुरु गरिएको प्रशासनिक भवनका लागि संघीय सरकारले ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत अनुदानमा निर्माण सुरु गरीएको हो,’ उनले भने, ‘अहिले तेस्रो पटक म्याद थप गरिएको छ । नगरपालिकाले अबिशा निर्माण सेवालाई नगरपालिकाले तेस्रो पटक यही चैत १८ म्याद थप गरेर २०८३ असोज मसान्तसम्म काम सम्पन्न गर्न अनुमति दिएको छ ।’
नगरपालिकाले ६ करोड भुत्तानी दिइसकेको र अहिले भवनको भौतिक प्रगति ३५ प्रतिशत मात्र भएको नगरपालिकाले जनाएको छ ।
भवनमा रातो इट्टा लगाउने वा स्थानीय ब्ल्क हाल्ने विषयमा अन्योलका कारण ढिलाइ भएको निर्माण व्यवसायी विपेश बस्नेतले बताए ।
‘अहिले नगरपालिकाले रातो इट्टा लगाउन सहमति पत्र पठाएकाले अब काम सुरु भएको छ,’ उनले भने, ‘हाम्रो कारणले भन्दा पनि नगरपालिकाको कारणले गर्दा भवन निर्माणमा समय लागेको भएको छ ।’




















प्रतिक्रिया