Logo

राजनीति

प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत, मंसिर ६ मा नयाँदिल्ली जाने



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा हुने प्रतिनिधिमण्डलको मंसिर ६ र ७ गतेको भारत भ्रमणलाई स्वीकृति दिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जान लागेका हुन्।

भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्नुका साथै पारस्परिक हित र लाभका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने सरकारले जनाएको छ।

त्यसक्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ। प्रधानमन्त्री शाह मंसिर ७ गते साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार १३:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।