भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हित र स्वार्थका विषय सशक्त रूपमा उठाउन सुझाव दिएका छन् ।
राप्रपा रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शाह राष्ट्रिय स्वतन्त्र पार्टीको नेतामात्र नभइ सम्पूर्ण नेपालीको प्रधानमन्त्री भएको उल्लेख गरे ।
भारतको राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई ३ करोड नेपालीको सद्भाव र स्नेह बोकेर जान आग्रह गर्दै उनले भ्रमण नेपालको राष्ट्रिय हित र स्वार्थको संवद्र्धनमा कोशेढुंगा बन्नुपर्ने बताए ।
नेपाल र भारतबीच धार्मिक, सामाजिक, साँस्कृतिक तथा पारिवारिक सम्बन्ध रहे पनि सीमा विवाद, व्यापार तथा पारवहन, डुबान र विगतमा सुरु भएका आयोजना कार्यान्वयनलगायतका समस्या रहेको उनले उल्लेख गरे । विगतका असमान सन्धि सम्झौता पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याउँदै थापाले यी सबै समस्या एउटै भ्रमणबाट समाधान नहुने भए पनि समाधान हुन नसकेका विषयलाई सशक्त रूपमा भारत सरकारसमक्ष राख्नुपर्ने बताए ।
नेपालको आधुनिकीकरण र आर्थिक समृद्धिका लागि भारतसँग साझेदारी गर्ने नयाँ परियोजना, कार्यक्रम तथा नीतिको जग बसाल्न पनि प्रधानमन्त्रीलाई उनले आग्रह गरे ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले आफूहरुको जिल्ला भ्रमण राप्रपाको महाधिवेशनमा भोट माग्नका लागि नभइ पार्टीलाई एकताबद्ध बनाउने र कार्यकर्तालाई उत्साहित गर्ने उद्देश्यले भइरहेको बताए ।
राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको एजेण्डा नेपाल रहुञ्जेल जीवित रहने दावी गर्दै उनले देशी–विदेशी शक्तिको स्वार्थका कारण नेपालको हिन्दूराष्ट्रको पहिचान र राजसंस्थाको पहिचान समाप्त पारिएको टिप्पणी गरे ।
नेपाली जनताले भोट हालेर हिन्दूराष्ट्र फ्याकेको हो र ? भन्दै उनले प्रश्न गरे । उनले भने, ‘नेपाली जनताले क्रान्ति गरेर वा भोट हालेर राजसंस्थालाई पाखा लगाएको होइन ।’
कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले कार्यकर्ताको माग र भनाइअनुसार नै आफूहरू जिल्ला भ्रमणमा निस्किएको बताए । राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको एजेण्डासहित अघि बढिरहेको उल्लेख गर्दै उनले कार्यकर्तालाई विचलित नभइ महाधिवेशनको तयारीमा जुट्न आग्रह गरे । महाधिवेशनपछि राप्रपालाई देशको पहिलो पार्टी बनाउने लक्ष्यका साथ आफूहरू अघि बढेको पाण्डेले बताए ।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य बसन्त विक्रम शाही, लुम्बिनी प्रदेश सदस्य बलराम शर्मा, युवा नेता अजय कुमार गुप्ता, सिद्धार्थनगर सचिव प्रकाश ढाढीलगायतले आफ्नो धारणा राखेका थिए ।




















प्रतिक्रिया