काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत घोप्टेभिरमा पहिरोको जोखिम नियन्त्रणका लागि भोलिदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
सडकको माथिल्लो भागबाट निरन्तर ढुङ्गा र माटो खस्ने क्रम नरोकिएपछि सम्भावित दुर्घटना न्यूनीकरण गर्न जोखिमयुक्त पहाड काटेर व्यवस्थापन गर्न लागिएको हो।
यसका लागि भोलिदेखि बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सडकमा पूर्ण रूपमा सवारी आवागमन बन्द गरिने जनाइएको छ। उक्त समयमा पहिरो व्यवस्थापन तथा जोखिमयुक्त ढुङ्गा हटाउने काम गरिनेछ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना प्रमुख सजना अधिकारीका अनुसार भिरमाथि खस्न सक्ने अवस्थामा रहेका ठूला ढुङ्गाका कारण जुनसुकै बेला दुर्घटना हुन सक्ने जोखिम छ।
‘भिरमाथि पहिरो झर्न तयार अवस्थामा ढुङ्गाहरू छन्। ती ढुङ्गालाई खनेर तल खसाल्न खोजिएको हो। जुनसुकै बेला ढुङ्गा झरेर मानिसलाई लाग्न सक्ने र दुर्घटनाको जोखिम धेरै भएकाले सवारीसाधन रोकेर काम गर्न लागिएको हो,’ अधिकारीले भनिन्।
उनका अनुसार अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा सवारी आवागमन रोकेर पहिरो नियन्त्रणको कामलाई निरन्तरता दिइनेछ।
सडक बन्द हुने समयलाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकलाई आफ्नो यात्रा व्यवस्थापन गर्न आयोजनाले आग्रह गरेको छ।




















प्रतिक्रिया