Logo

राजनीति

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि आउँछ : अर्थमन्त्री वाग्ले



विराटनगर । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणलाई मुलुकको समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएका छन् ।

विराटनगरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार तथा सरकारको वैधताको मन्त्रका रूपमा लिइएको बताए ।

भ्रष्टाचारले व्यवसायको लागत बढाउने, पहुँचका आधारमा अवसर वितरण हुने र प्रतिस्पर्धात्मक वातावरण कमजोर बनाउने उल्लेख गर्दै मन्त्री वाग्लेले सरकारी निकायमा हुने अनियमितता र बिचौलियाको हस्तक्षेपबारे सरकारलाई जानकारी गराउन निजी क्षेत्रसँग आग्रह गरे ।

‘सरकारी कार्यालयमा बिचौलियाको हस्तक्षेप र भ्रष्टाचारका विषयमा सरकारले शून्य सहनशीलताको नीति अपनाएको छ,’ उनले भने, ‘यस्ता गतिविधिमा संलग्न जोसुकैलाई कानुनी कारबाही गरिनेछ ।’

उनले कानुनसम्मत रूपमा आर्जन गरिएको निजी सम्पत्ति, उद्योग, व्यवसाय र लगानीको सुरक्षा गर्नु सरकारको आधारभूत दायित्व भएको बताए ।

निजी क्षेत्रले असुरक्षा महसुस गर्नुपर्ने अवस्था आउन नदिने र सबैका लागि समान अवसर तथा निष्पक्ष प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता थियो ।

अर्थमन्त्री वाग्लेले आगामी चार महिनालाई सकारात्मक सुधारलाई ठोस परिणाममा रूपान्तरण गर्ने महत्त्वपूर्ण अवधिका रूपमा लिइएको बताए ।

सरकार सुधारको गति बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई पनि नयाँ उद्योग स्थापना, उत्पादन क्षमता विस्तार र आधुनिक प्रविधिमा लगानी गर्न आग्रह गरे ।

कृषि प्रशोधन, ऊर्जा, पर्यटन तथा औद्योगिक क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले उत्पादन लागत घटाउने र रोजगारी सिर्जना गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताए । बेरोजगारी र मूल्यवृद्धिलाई गम्भीर चुनौतीका रूपमा लिएको उनको भनाइ थियो ।

आर्थिक वृद्धिको प्रतिफल नागरिकको दैनिक जीवनमा देखिनुपर्ने उल्लेख गर्दै मन्त्री वाग्लेले हजारौँ उद्यममार्फत रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेको बताए ।

युवालाई कृषि, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र आधुनिक सेवा क्षेत्रमा अवसर उपलब्ध गराउने सरकारको योजना रहेको उनले जानकारी दिए ।

विप्रेषण, उपभोग, आयात र राजस्वमा निर्भर अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुपर्ने उनको भनाइ थियो । बचतलाई लगानी, उत्पादन र निर्यातमा रूपान्तरण गर्न सके मात्रै मुलुकको आर्थिक आधार बलियो हुने उनले बताए ।

पूर्वी नेपालको औद्योगिक इतिहास र विराटनगरको औद्योगिक विरासतलाई नयाँ पुस्ताका अवसरसँग जोड्नुपर्नेमा जोड दिँदै वाग्लेले कृषि प्रशोधन, भण्डारण, गुणस्तर प्रमाणीकरण, निर्यात र जलविद्युत्लाई औद्योगिक प्रतिस्पर्धाको आधार बनाउनुपर्ने बताए ।

निजी क्षेत्रलाई नयाँ उद्योग स्थापना गर्न, प्रविधिको प्रयोग बढाउन, उत्पादनको गुणस्तर सुधार गर्न र नयाँ निर्यात बजारको खोजी गर्न आग्रह गर्दै उनले राज्यले आफ्नो कार्यशैली र चरित्र परिवर्तन गरिरहेका बेला निजी क्षेत्रले पनि लगानी विस्तारमा सक्रियता देखाउनुपर्ने बताए ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार १९:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।