Logo

खेलकुद

NPL का आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाइने



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।

एनपीएलको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री शाहले नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी आठवटै क्लबका आफ्नै क्रिकेट रंगशाला निर्माण गरिने बताएका हुन् ।

उनका अनुसार क्रिकेट रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र अन्य सबै रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइने उनले उल्लेख गरेका छन् ।

सरकारले सार्वजनिक गरेको योजनाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण गरिनेछ ।

त्यस्तै, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशालालाई सम्बन्धित क्लबको घरेलु मैदानका रूपमा विकास गर्ने योजना छ ।

प्रधानमन्त्री शाहले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन् ।

यो योजना कार्यान्वयनमा आए एनपीएलका खेलहरू काठमाडौंमा मात्रै सीमित नरही देशका विभिन्न सहरमा सञ्चालन हुनेछन् । यसले नेपाली क्रिकेटको व्यावसायिक विस्तारसँगै क्षेत्रीय स्तरमा खेल पूर्वाधार, पर्यटन र आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार २२:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।