Logo

अन्तर्राष्ट्रिय

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदर अधिकतम १० प्रतिशतमा सीमित गर्ने प्रस्ताव कार्यान्वयनका लागि डेमोक्रेटिक सांसदहरूसँग सहकार्य गर्ने बताएका छन्।

शनिबार फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले क्रेडिट कार्ड कम्पनीहरूले अत्यधिक नाफा कमाइरहेको उल्लेख गर्दै ब्याजदर घटाउनुपर्ने बताएका हुन्। हाल अमेरिकामा क्रेडिट कार्डको औसत ब्याजदर २२.२ प्रतिशत छ।

यसअघि रिपब्लिकन सांसदको पर्याप्त समर्थन नपाउँदा रोकिएको प्रस्ताव अब अघि बढ्ने ट्रम्पको अपेक्षा छ। सिनेटर एलिजाबेथ वारेन, म्याक्सिन वाटर्स र रिपब्लिकन सिनेटर जोस हाउलीले पनि प्रस्तावलाई समर्थन गरेका छन्।

प्रस्ताव कार्यान्वयन भए उपभोक्ताले वार्षिक अर्बौं डलर बचत गर्न सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ। तर बैंक तथा क्रेडिट कार्ड कम्पनीहरूले ब्याजदरमा सीमा तोक्दा कम आय भएका र कमजोर ऋण इतिहास भएका ग्राहकले कार्ड पाउन कठिन हुने चेतावनी दिएका छन्।

अमेरिकी उपभोक्ता वित्तीय संरक्षण ब्यूरोका अनुसार सन् २०२४ मा करिब १९ करोड ५० लाख अमेरिकीले क्रेडिट कार्ड प्रयोग गरेका थिए। उनीहरूले ब्याजबापत १६० अर्ब डलर तिरेका थिए।

त्यस्तै, न्युयोर्क फेडरल रिजर्भका अनुसार सन् २०२५ को तेस्रो त्रैमासिकसम्म अमेरिकाको क्रेडिट कार्ड ऋण १२ खर्ब ३० अर्ब डलर पुगेको थियो।

प्रकाशित मिति : ६ मंसिर २०८३, आईतवार २१:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।