काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बाढी प्रभावित क्षेत्रमा प्राविधिक जोखिम मूल्यांकनका आधारमा सुरक्षित बस्ती पुनर्निर्माण गर्नुपर्ने बताएका छन् ।
आइतबार रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै उनले स्थानीयको भावना र सुरक्षालाई सँगसँगै सम्बोधन गर्नुपर्ने बताए ।
पुर्ख्यौली थातथलो छाड्न नचाहेका बासिन्दाको मागलाई ध्यानमा राख्दै सम्भव भएका स्थानमा जोखिम न्यूनीकरण गरेर बस्ती पुनर्निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
थापाले पुनर्निर्माणलाई निजी आवासमा मात्र सीमित नगरी सडक, पुल, विद्युत्, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र रोजगारीलाई समेत समेट्न सरकारसँग आग्रह गरे । साथै, पुनर्निर्माणका योजना बनाउँदा प्रभावित नागरिकसँग पर्याप्त छलफल गरी उनीहरूका सुझाव समेट्नुपर्ने बताए ।
उनले उत्तरगया गाउँपालिका, बेत्रावती, त्रिशूली, ढुंगे, देवीघाट हुँदै धादिङको गल्छीसम्मका प्रभावित क्षेत्रको अवलोकन गरेका थिए । सो क्रममा स्थानीय जनप्रतिनिधि र प्रभावित बासिन्दासँग राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका प्राथमिकताबारे छलफल गरेका थिए ।
भोटेकोशी बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्ती, सडक, पुल, विद्युत् आयोजना तथा निजी र व्यावसायिक संरचनामा ठूलो क्षति पुर्याएको थियो ।




















प्रतिक्रिया