Logo

Technology

नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल



काठमाडौं । विपद्को जोखिममा रहेका क्षेत्रका नागरिकलाई समयमै पूर्वसूचना तथा चेतावनी सन्देश पुर्‍याउने उद्देश्यले नेपालमै विकसित सेल ब्रडकास्ट प्रणाली (सीबीएस) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ।

सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको सहकार्यमा मंगलबार उक्त प्रणालीको परीक्षण गरिएको हो।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा नेपाल टेलिकमको बलम्बुस्थित टावरबाट परीक्षण सन्देश प्रवाह गरिएको थियो।

परीक्षणका क्रममा काठमाडौंको निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा नेपाली र अंग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ भन्ने सूचना पठाइएको थियो।

मोबाइलमा सन्देश प्राप्त हुँदा सामान्य एसएमएसभन्दा फरक चेतावनी ध्वनि बज्नुका साथै फोनमा कम्पनसमेत आएको थियो।

सेल ब्रडकास्ट प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रभित्र रहेका सबै मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सकिन्छ। यसका लागि प्रयोगकर्ताको मोबाइल नम्बर छुट्टाछुट्टै संकलन गर्नुपर्ने वा इन्टरनेटको आवश्यकता पर्दैन।

मोबाइल सेवा प्रदायकको नेटवर्कमा जोडिएका लक्षित क्षेत्रका मोबाइल फोनमा एकैपटक सन्देश पुर्‍याउन सकिने भएकाले नेटवर्कमा अत्यधिक चाप भएका बेला पनि यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यस प्रविधिको अर्को महत्त्वपूर्ण विशेषता प्रयोगकर्ताको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण संकलन नगरी सूचना प्रवाह गर्न सक्नु हो। यसले प्रयोगकर्ताको गोपनीयता कायम राख्दै ठूलो संख्यामा नागरिकलाई एकैपटक सचेत गराउन सहयोग पुर्‍याउनेछ।

बाढीपहिरो, हिमताल विस्फोटबाट उत्पन्न हुने बाढी, भूकम्प तथा प्रतिकूल मौसमजन्य जोखिमबारे पूर्वसूचना दिन यस प्रणाली उपयोगी हुने विश्वास गरिएको छ। जोखिममा रहेका क्षेत्रका नागरिकलाई समयमै चेतावनी दिनुका साथै सुरक्षित स्थानमा जान आवश्यक निर्देशनसमेत मोबाइलमार्फत पुर्‍याउन सकिनेछ।

प्रारम्भिक परीक्षणबाट प्राप्त प्राविधिक नतिजा र अनुभवका आधारमा प्रणालीलाई थप परिष्कृत गरी उच्च विपद् जोखिम भएका क्षेत्रमा चरणबद्ध रूपमा विस्तार गर्ने सरकारको लक्ष्य छ।

विपद्का बेला नागरिकलाई तत्काल सचेत गराउन, सम्भावित जोखिमबाट जोगिन आवश्यक निर्देशन दिन तथा मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सेल ब्रडकास्ट प्रणाली प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार २०:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।