Logo

अर्थ

काठमाडौंको घरजग्गा र मेसिनरी बेच्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, मंसिर २२ सम्म बोलपत्र दिन सकिने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको घरजग्गा, टहरा, मेसिनरी तथा अन्य सामग्री बिक्री गर्ने भएको छ। बैंकले गोप्य सिलबन्दी बोलपत्रमार्फत उक्त सम्पत्ति बिक्री गर्न इच्छुक व्यक्ति तथा संस्थाबाट आवेदन माग गरेको छ।
बैंकले मंसिर ८ गते सूचना जारी गर्दै काठमाडौं महानगरपालिका वडा नं. ११ स्थित कित्ता नम्बर ४०१ को ०–४–३–२ रोपनी क्षेत्रफलमा रहेको घर, जग्गा तथा टहरा बिक्रीमा राखेको जनाएको छ। उक्त सम्पत्ति मालपोत कार्यालय डिल्लीबजारमा दर्ता रहेको छ।
त्यसैगरी, बैंकले धितो सुरक्षणमा रहेका मेसिनरी तथा अन्य सामग्रीसमेत बिक्री गर्ने जनाएको छ।
इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संघसंस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको गैरबैंकिङ सम्पत्ति विभाग, दरबारमार्ग काठमाडौं वा सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी सम्पत्ति निरीक्षण गर्न सक्नेछन्। बैंकले तोकेका सर्त तथा बन्देजको अधीनमा रही गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सकिनेछ।
बैंकका अनुसार बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर २२ गते मंगलबार रहेको छ भने बोलपत्र मंसिर २३ गते बुधबार दिउँसो २ बजे खोलिनेछ। बोलपत्र खोल्ने कार्य स्थानीय निकाय, नेपाल सरकारका प्रतिनिधि तथा बोलपत्रदाताका आधिकारिक प्रतिनिधिको रोहवरमा गरिनेछ।
बोलपत्र फाराम बैंकको गैरबैंकिङ सम्पत्ति विभाग वा सम्बन्धित शाखा कार्यालयबाट प्रतिगोटा १ हजार रुपैयाँ शुल्क तिरेर खरिद गर्न सकिने बैंकले जनाएको छ। फाराममा बिक्रीसम्बन्धी विस्तृत सर्त तथा बन्देजहरू उल्लेख गरिएको छ।
थप जानकारीका लागि बैंकको गैरबैंकिङ सम्पत्ति विभाग, दरबारमार्ग काठमाडौंमा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलवार १२:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।