Logo

समाचार

हिम रिभर पावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो, २६ करोड बढीको आईपीओ ल्याउँदै



काठमाडौं । हिम रिभर पावर लिमिटेडले प्रवर्द्धन गरेको १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत् आयोजना राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा निर्माण भएको आयोजनाले मंसिर ६ गतेदेखि विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।
आयोजना सञ्चालनमा आएसँगै कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारीसमेत अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि आवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएपछि सर्वसाधारणका लागि सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कुल २६ करोड ६० लाख रुपैयाँ बराबरको २६ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त सेयर कम्पनीको जारी पुँजीको २० प्रतिशत हो ।
कुल निष्कासनमध्ये १३ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । बाँकी १३ लाख ३० हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।
सेयर निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलवार १२:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।