Logo

अर्थ

आकाश क्यापिटलको साधारणसभा सम्पन्न, अब कामना सेवा क्यापिटल हुने



काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर अधिग्रहण गरी आफ्नो सहायक कम्पनीका रूपमा कायम गरेसँगै कम्पनीको संस्थागत संरचना र व्यावसायिक यात्रामा नयाँ चरण सुरु भएको छ। यसै सन्दर्भमा कम्पनीको आठौँ वार्षिक साधारण सभा मंसिर ७ गते सोमबार बिहान ११:०० बजे कम्पनीको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा सम्पन्न भएको छ ।
बैंकद्वारा संस्थापक शेयर अधिग्रहण सम्पन्न भएपछि आयोजित यो पहिलो वार्षिक साधारण सभा हो । समान्य प्रस्ताव तर्फ सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरणहरू पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय समेत पारित गरेको छ ।
यसैगरी, कामना सेवा विकास बैंकको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक समितिमा नियुक्त भएका कमर्चारीहरूको नियुक्तिलाई सभाले अनुमोदन गरेको छ। विशेष प्रस्तावतर्फ सभाले कम्पनीको पुँजी वृद्धि, नाम परिवर्तन, संस्थागत सुदृढीकरण तथा व्यवसायको कार्यक्षेत्र विस्तारसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। यसबाट कम्पनीको पुँजीगत आधार थप सुदृढ हुनेछ । साथै, आगामी व्यावसायिक विस्तार तथा नयाँ लगानीका अवसर उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ ।
यसैगरी, कम्पनीको नयाँ स्वामित्व संरचना र संस्थागत पहिचानलाई प्रतिबिम्बित गर्ने उद्देश्यले संस्थाको हालको नाम ‘आकाश क्यापिटल लिमिटेड’ बाट परिवर्तन गरी ‘कामना सेवा क्यापिटल लिमिटेड’ कायम गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ। आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि कम्पनी नयाँ नामबाट सञ्चालनमा आउनेछ ।
कामना सेवा विकास बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा अघि बढिरहेको कामना सेवा क्यापिटल लिमिटेडले आगामी दिनमा मर्चेन्ट बैंकिङ तथा पुँजी बजारसम्बन्धी वित्तीय सेवाहरूको दायरा विस्तार गर्ने लक्ष्य लिएको छ। पारित प्रस्तावहरूको कार्यान्वयनसँगै कम्पनीको संस्थागत क्षमता अभिवृद्धि तथा व्यावसायिक विविधीकरणमा थप टेवा पुग्ने विश्वास गरिएको छ। साथै, कम्पनीले नेपालको पुँजी बजारको विकासमा योगदान र्पुयाउँदै लगानीकर्तालाई विविध वित्तीय सेवा तथा लगानीका अवसर उपलब्ध गराउने लक्ष्य राखेको छ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलवार १३:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।