Logo

अन्तर्राष्ट्रिय

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा मृत्यु हुनेको संख्या २६ पुग्यो



काठमाडौं । इन्डोनेसियाको एक मिठाई उत्पादन गर्ने कारखानामा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ। मंगलबार प्रहरीले थप दुई जनाको शव फेला पारेसँगै मृतकको संख्या २६ पुगेको पुष्टि गरेको हो।

बान्टेन प्रान्तको सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा शनिबार दिउँसो आगलागी भएको थियो। राजधानी जकार्ताबाट करिब ५० किलोमिटर दूरीमा रहेको उक्त कारखानामा आगलागी हुँदा दर्जनौँ कामदार भवनभित्रै फसेका थिए।

प्रहरीका अनुसार घटनापछि अझै २८ जना कामदार बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। साथै, आगलागीको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरेको छ।

बान्टेनका प्रहरी उपप्रमुख जैन द्वी नुग्रोहोका अनुसार प्रारम्भिक अनुसन्धानबाट आगलागी र मानिसको ज्यान जोखिममा पर्ने गरी लापरबाही वा असावधानी भएको हुन सक्ने आशंका गरिएको छ। घटनास्थलबाट संकलन गरिएका प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको उनले बताएका छन्।

उद्धारकर्मी जाजुलीले सोमबार फेला परेका अधिकांश शव आगलागीका कारण नराम्ररी जलेको र पहिचान गर्नसमेत कठिन भएको बताएका थिए।

इन्डोनेसियामा औद्योगिक तथा भवन आगलागीका कारण ठूलो मानवीय क्षति हुने घटना यसअघि पनि भएका छन्। गत डिसेम्बरमा राजधानी जकार्तास्थित साततले भवनमा ड्रोनको ब्याट्री विस्फोटबाट आगलागी भएको आशंका गरिएको घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको थियो।

त्यस्तै, सन् २०२३ मा देशको पूर्वी क्षेत्रमा रहेको निकेल प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १३ जनाले ज्यान गुमाएका थिए।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलवार २०:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।